श्रीलंकाविरुद्धको वानडे सिरिज इंग्ल्याण्डले एक खेल अगावै जित्यो

काठमाडौं- श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज इंग्ल्याण्डले एक खेल अगावै आफ्नो पक्षमा पारेको छ ।

गएराति भएको दोस्रो म्याचमा श्रीलंकालाई ८ विकेटले हराउँदै इंग्ल्याण्डले २(० ले सिरिज आफ्नो पक्षमा पारेको हो ।

दोस्रो खेलमा पाहुना टोली श्रीलंकाले दिएको २ सय ४२ रनको लक्ष्य इंग्ल्याण्डले ४३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि जेसन रोयसहित तीन ब्याट्सम्यानले अर्धशतकीय पारी खेले ।

रोयले ५२ बलमा १० चौकासहित ६०, कप्तान इयोन मोर्गनले ८३ बलको सामना गर्दा ८ चौका र एक छक्कासहित अविजित ७५ रनको योगदान दिए ।

त्यस्तै, जो रुटले ८७ बलमा ६ चौकासहित नटआउट ६८ रनको पारी खेले । ओपनर जोनी बेयरिस्टो भने २९ रनमै पवेलिएन फर्किए ।

त्यसअघि, द ओभल मैदानमा टस हारेर ब्याटिङको मौका पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४१ रन बनायो ।

उसका लागि धनञ्जय डिसिल्भाले उत्कृष्ट ब्याटिङ गरे । उनले ९१ बलमा १३ चौकाको मद्दतमा ९१ रन बनाए ।

त्यस्तै, दसुन शनाकाले ४७, वानिन्दुु हसरंगाले २६, चमिका करुणारत्नेले २१, बिनुर फर्नान्डोले १७ र दुश्मन्था चामेराले अविजित १४ रनको योगदान दिए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा साम करनले करियरकै उत्कृष्ट बलिङ गरे । उनले १० ओभरमा ४८ रन दिएर पाँच विकेट हात पारे ।

यसअघि वानडेमा करनको उत्कृष्ट बलिङ ३ विकेट लिएर ३५ रन खर्चिनु थियो ।

 

त्यस्तै, डेभिड विलीले पनि चार विकेट हात पारे ।

श्रीलंका र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय म्याच आइतबार हुनेछ । तीन खेलको टी-२० श्रृंखलापछि दुवै टोलीले वानडे सिरिज खेलिरहेका हुन् ।

Loading...