पोलार्ड र ब्रावो चम्किँदा दक्षिण अफ्रिकाविरुद्ध वेष्ट इण्डिज विजयी

काठमाडौं- दक्षिण अफ्रिकासँगको टी-२० सिरिजको चौथो खेलमा घरेलु टोली वेष्ट इण्डिज २१ रनले विजयी भएको छ ।

योसँगै पाँच खेलको श्रृंखला २-२ को रोमाञ्चक अवस्थामा पुगेको छ ।

यी दुई टोलीबीचको निर्णायक तथा अन्तिम टी-२० म्याच शनिबार हुनेछ ।

सिरिजको चौथो खेलमा वेष्ट इण्डिजले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको द. अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो ।

उसका लागि क्विन्टन डिककले ४३ बलमा ६ चौका र दुई छक्कासहित ६० रन बनाए ।

जारी सिरिजमा डिककको यो लगातार दोस्रो अर्धशतक हो । त्यस्तै, एडन मार्कमले २०, कागिसो रबाडाले अविजित १६ र डेविड मिलरले १२ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा डिजे ब्रावोले चार ओभरमा १९ रन दिएर चार विकेट लिए । त्यस्तै, आन्द्रे रसेलले दुई, क्रिस गेल, ओबेद म्याक्यो र कप्तान किरण पोलार्डले एक/एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनायो ।

उसका लागि कप्तान किरण पोलार्डले आक्रामक पारी खेले । उनले २५ बलमा ५ छक्का र दुई चौकासहित अविजित ५१ रन बनाए ।

त्यस्तै, लिन्डल सिमन्सले ४७, फाबियन आलेनले अविजित १९ र निकोलस पूरनले १६ रन बनाए ।

इभन लुईस (७), क्रिस गेल (५), शिमरन हेटमायर (७) र आन्द्रे रसेल (९ रन)ले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा तरबीज शाम्सी, जर्ज लिन्डेले दुई/दुई, एनरिक नोर्टजे र कागिसो रबाडाले एक/एक विकेट लिए ।

सिरिजमा यसअघि पहिलो खेलमा वेष्ट इण्डिज ८ विकेटले विजयी भएको थियो । दोस्रो र तेस्रो खेलमा भने दक्षिण अफ्रिकाले जित हात पारेको थियो ।

Loading...