अमेरिकामा नेपाली राइनोजको शानदार जित, यस्तो रह्यो पृथु र बसन्तको प्रदर्शन

काठमाडौं- अमेरिकामा जारी एलएल ओपन २०२१ च्याम्पियनसिप प्रतियोगितामा नेपाली राइनोज अल स्टार्स क्लबले विजयी सुरुवात गरेको छ ।

अतिम मास्टर ब्लास्टर्सलाई ६७ रनले हराउँदै राइनोज अल स्टार्सले विजयी सुरुवात गरेको हो ।

मास्टर ब्लास्टर्समा अमेरिकी राष्ट्रिय क्रिकेटरहरूको बाहुल्यता छ ।

सेभर्न क्रिकेट फिल्डमा भएको खेलमा नेपाली राइनोज अल स्टार्सले दिएको १६७ रनको लक्ष्य पछ्याएको मास्टर ब्लास्टर्स १९.४ ओभरमा ९९ रनमा अलआउट भयो ।

उसका लागि रभी टिम्बेवालाले सर्वाधिक ४४ रन बनाए ।

बलिङमा अलस्टार्सका स्पिनर बिपुल शर्माले ४ विकेट लिए । उनले आईपीएलसमेत खेलिसकेका छन् ।

त्यस्तै, अमेरिकाको राष्ट्रिय क्रिकेटर रहेका लेग स्पिनर तिमिल पटेलले तीन, नेपाली भेट्रान देब्रे हाते स्पिनर बसन्त रेग्मीले एक लिए ।

File Photo

उनले तीन ओभर बलिङ गर्दा २१ रन खर्चिएर एक विकेट लिएका हुन् । बसन्तले रभी टिम्बेवालालाई ४४ रमना बोल्ड आउट गरे ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली राइनोज अल स्टार्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६६ रन बनायो ।

उसका लागि नईम योङले आक्रामक ब्याटिङ गरे । उनले ३१ बलमा पाँच छक्का र चार चौकासहित ६८ रन बनाए ।

उनी वेष्ट इन्डिजका लागि यू-१९ क्रिकेट खेलिसकेका छन् ।

त्यस्तै, अमेरिकी राष्ट्रिय क्रिकेटरसमेत रहेका ओपनर मुनाल पटेलले ३६ बलमा पाँच चौका र तीन छक्कासहित ५३ रनको योगदान दिए ।

पाँचौ नम्बरमा ब्याटिङमा आएका नेपाली राष्ट्रिय टोलीका ब्याट्सम्यान पृथु बास्कोटा भने तीन रनमै आउट भए ।

उनले ५ बलको सामना गर्दा तीन रन मात्र बनाउन सके । त्यस्तै, बसन्त रेग्मीले ६ बलमा ५ रन बनाए ।

नेपाली राईनोज अल स्टार्सले प्रतियोगितामा आफ्नो दोस्रो खेल शनिबार खेल्नेछ । प्रतियोगिताको विजेताले ७५ हजार अमेरिकी डलर पुरस्कार पाउने छ ।

Loading...