श्रीलंकाविरुद्धको टी-२० सिरिज वेष्ट इण्डिजले जित्यो

काठमाडौं- श्रीलंकासँगको टी-२० सिरिजको अन्तिम तथा तेस्रो खेलमा श्रीलंकाविरुद्ध वेष्ट इण्डिज तीन विकेटले विजयी भएको छ । यो जितसँगै घरेलु टोली वेष्ट इण्डिजले सिरिज इण्डिजले २-१ ले सिरिज जितेको छ ।

सिरिजको अन्तिम खेलमा श्रीलंकाले दिएको १ सय ३२ रनको लक्ष्य वेष्ट इण्डिजले १९ ओभरमा सात विकेट गुमाएर भेट्टायो ।

उसका लागि लिन्डल सिमन्सले २६, निकोलश पूरनले २३, इभन लुईस, फाबियन आलनेले २१/२१ र क्रिस गेलले १३ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा लक्षण सदाकनले तीन, वानिन्दु हसरंगा र दुश्मन्था चामेराले दुई/दुई विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ३१ रन बनायो ।

उसका लागि दिनेश चन्डिमलले ५४, एशन भण्डाराले अविजित ४४ र कप्तान एन्जेलो म्याथ्यूजले ११ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा फाबियन आलेन, ओबेद म्याक्यो, केविन सिन्कलेयर र जेशन होल्डरले एक/एक विकेट लिए ।

Loading...