बंगलादेशविरुद्ध इंग्ल्याण्ड विजयी, पीटरसनको आक्रामक ब्याटिङ

काठमाडौं- भारतमा जारी रोड सेफ्टी टी-२० वर्ल्ड सिरिजमा इंग्ल्याण्ड लेजेन्डसले विजयी सुरुवात गरेको छ । बंगलादेश लेजेन्ड्सलाई सात विकेटले हराउँदै इंग्ल्याण्डले विजयी सुरुवात गरेको हो ।

गएराति छत्तिसगढको रायपुरमा भएको खेलमा बंगलादेशले दिएको १ सय १४ रनको लक्ष्य इंग्ल्याण्डले १४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि कप्तान केविन पीटरसनले आक्रामक ब्याटिङ गरे । उनले १७ बलमा एक छक्का र सात चौकासहित ४२ रनको पारी खेले ।

त्यस्तै, डारेन मड्डीले अविजित ३२, फिल मस्टर्डले २७, क्रिस स्कोफिल्ड र केविन ह्यामिल्टनले पाँच/पाँच रन बनाए ।

बलिङमा मोहम्मद रफिकले दुई र आलमगीर कविरले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय १३ रन बनायो ।

उसका लागि खालिद मसुदले ३१, मुश्फिकुर रहीमले अविजित ३०, हनन सरकारले १३ र नजीमद्दीनले १२ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा क्रिस ट्रेमलेटले दुई, मोन्टी पेन्सर र रायन साइडबन्टमले एक/एक विकेट हात पारे । जारी सिरिजमा इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ ।

बंगलादेशले भने दुई म्याच खेल्दा दुवैमा हारको सामना गरेको छ ।

यो सिरिजमा ६ टिमले भाग लिएका छन् । सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका खेलाडीले खेलिरहेका छन् ।

सात म्याच सकिँदा भारत लेजेन्ड्स तालिकाको शीर्ष स्थानमा छ । उसले तीन म्याच खेल्दा सबैका जित हासिल गरेको छ ।

Loading...