‘लंका प्रिमियर लिग’मा सन्दीप कतिमा अनुबन्ध?

काठमाडौं- आउँदो सिजनको लंका प्रिमियर लिग (एलपीएल)का लागि ड्राफ्टमा भाग लिने विदेशी खेलाडीको सूची सार्वजनिक गरिएको छ।

सार्वजनिक सूचीमा ११ देशका खेलाडीले नाम दर्ता गराएका छन्। नेपालबाट ड्राफ्टमा सन्दीप लामिछानेको नाम मात्र समावेश छ।

नेपालबाट गत सिजनमा सन्दीप र सुनम गौतमले ड्राफ्टमा नाम दिएका थिए। तर, दुवैलाई कुनै टोलीले टिममा अनुबन्ध गरेका थिएनन्।

ड्राफ्टमा दक्षिण अफ्रिका, वेष्ट इण्डिज र अफगानिस्तानका ९/९ खेलाडीले ड्राफ्टमा नाम दताए गराएका छन्।

त्यस्तै, पाकिस्तानका ८, अष्ट्रेलियाका ५, बंगलादेशका सात, भारतका दुई, न्यूजिल्याण्ड, नेपाल, जिम्बाब्वे र अमेरिकाका एक/एक खेलाडीले पनि ड्राफ्टमा नाम दर्ता गराएका छन्।

दोस्रो सिजनको एलपीएल ३० जुुलाईदेखि सुरु हुने तालिका छ। सन्दिपले खेल्ने भनेको ‘द हन्ड्रेड’ लिग जुलाई २२ देखि अगस्ट २१ तारिखमा आयोजना हुनेछ।

दुई प्रतियोगिता सँगसँगै हुने भए पनि सन्दीपले किन लंका प्रिमियर लिग (एलपीएल)को ड्राफ्टमा नाम दर्ता गराए? यो प्रश्न चासोका साथ हेरिएको छ ।

‘द हन्ड्रेड’ लिगमा सहभागिता पछि सन्दीप वेस्ट इन्डिजमा अगस्ट २८ तारिख देखि सुरु हुने क्यारेबियन प्रिमियर लिग खेल्न जाने तालिका छ।

उनलाई यो सिजन डिफेन्डिङ च्याम्पियन टिम ट्रिनबागो नाइट राइडर्सले टिममा अनुबन्ध गरेको छ।

‘द हन्ड्रेड’ लिगको टिम ओभल इन्भिनसिबलसंग ६० हजार पाउण्ड स्टरलिंग अर्थात् करिब १ करोड नेपाली रुपैयाँमा आवद्ध भएका हुन्।

सन्दीपले एलपीएलमा कुन श्रेणीमा नाम दर्ता गराएको खुलेको छैन।

विदेशी खेलाडीको लागि आईकन ओभरसिज श्रेणीको मूल्य ६० हजार डलर, डायमण्ड ओभरसिज श्रेणीको मूल्य ५० हजार डलर तथा गोल्ड ओभरसिज श्रेणीको मूल्य २५ देखि ४० हजार डलर रहेको छ।

सन्दीपले अघिल्लो संस्करण पनि एलपीएलको ड्राफ्टमा नाम दर्ता गराएता पनि उनलाई कुनै पनि टिमले लिएका थिएनन्।

एलपीएलको एउटा टिममा २० जना अधिकतम खेलाडी हुनुपर्ने नियम रहेको छ।

जसमध्ये अधिकतम ६ जना विदेशी खेलाडी र अधिकतम १४ जना स्थानीय खेलाडी हुनुपर्नेछ।

अघिल्लो सिजन टिममा रहेका २/२ जना स्थानीय र विदेशी खेलाडीलाई टिमहरुले रिटेन गर्न पाउनेछ।  एलपीएलमा कोलोम्बो किंग्स, दाम्बुल्ला भाइकिंग, गाले ग्ल्याडीएटर्स, जाफ्ना स्टालियन्स  र क्यान्डी टस्कर्स गरि ५ टोली रहेका छन्।

गत सिजन लिगको उपाधि थिसारा परेरा कप्तानीको जाफ्नाले जितेको थियो।

ड्राफ्टमा नाम दर्ता गर्ने खेलाडी :

वेष्ट इण्डिज : शेर्फेन रदरफोर्ड, नोकलस पूरन, शेल्डन कोटरेल, रियाद इमृत, रवि रामपल, ड्वेन स्मिथ, दिनेश रामदिन, जोनसन चार्ल्स र रोभम्यान पावेल।

File Photo

पाकिस्तान : हरिस सोहेल, वकास मकसूद, मुहम्मद हसनैन, मोहम्मद इरफान, शोएब मकसूद, शान मसूद, अनवर अली र अम्माद बट।

बंगलादेश : शाकिबउल हसन, तमीम इकबाल, मेहदी हसन मिराज, तस्किन अहमद, मोहम्मदुल्लाह, लिटन दास र सौम्य सरकार।

अष्ट्रेलिया : उस्मान ख्वाजा, बेन कटिङ, जेम्स फाल्कनर, बेन डंक र कलुम फर्ग्युसन।

दक्षिण अफ्रिका : टेम्बा बावुमा, रिले रोसउ, डेभिड विसे, जोन जोन स्मट्स, मोर्ने मोर्केल, रस्सीभ्यान डर दुसेन, केशव महाराज, तरबीज शम्सी र हार्दस भिल्जोइन।

अफगानिस्तान : असगर अफगान, मोहम्मद शहजाद, नजीबुल्लाह जदरान, नवीन उल हक, उस्मान शिन्वारी, रहमानुल्लाह गुर्बाज, हजरतुल्ला जजाई, नवीन–उल–हक र क्वाइस अहमद।

भारत : इरफान पठान र युसूफ पठान।

जिम्बाब्वे : ब्रेण्डज टेलर।

न्यूजिल्याण्ड : मिचेल म्याघ्लेनघन

नेपाल : सन्दीप लामिछाने

अमेरिका : अलि खान

Loading...