मितालीको कीर्तिमानी प्रदर्शनमा ‘क्लिनस्विप’बाट जोगियो भारत

काठमाडौं । इंग्ल्याण्डसँगको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा पाहुना महिला टोली ४ विकेटले विजयी भएको छ ।

योसँगै भारत ‘क्लिनस्विप’बाट जोगिएको छ । पहिलो र दोस्रो खेलमा भारत क्रमशः ८ र ५ विकेटले पराजित भएको थियो ।

गएराति सम्पन्न तेस्रो खेलमा इंग्ल्याण्डले दिएको २ सय २० रनको लक्ष्य भारतले ४६.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

उसका लागि मिताली राजले अविजित ७५, स्मृति बन्धानाले ४९, स्नेहा राणाले २४, शफाली वर्माले १९, दिप्ती शर्माले १८ र हरमनप्रीत कौरले १६ रन बनाइन् ।

बलिङमा सोफी एक्लेस्टोनले सर्वाधिक दुई विकेट लिइन् ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको इंग्ल्याण्डले ४७ ओभरमा झारिएको खेलमा इंग्ल्याण्डले सम्पूर्ण विकेट गुमाएर २ सय १९ रन बनायो ।

उसका लागि नेट साइवरले ४९, कप्तान हीदर नाइटले ४६, लरेन विनफील्ड हिलले ३६, सोफिया डन्क्लेले २८, एमी जोन्सले १७ र केट क्रसले अविजित १६ रन बनाइन् ।

बलिङमा दिप्ती शर्माले तीन, हरमनप्रीत कौर, स्नेहा राणा, पूनम यादव, शिखा पाण्डे र झुलन गोश्वामीले एक/एक विकेट लिइन् ।

तीन खेलको सिरिज इंग्ल्याण्डले खेल म्याच अगावै २-० ले जितिसकेको थियो ।

मितालीले रचिन् इतिहास

भारतीय महिला टिमकी कप्तान मिताली राजले नयाँ कीर्तिमान बनाएकी छन् । उनले एकदिवसीय क्रिकेटमा ७ हजार ३ सय रन पूरा गर्ने पहिलो ब्याट्सवुमन बनेकी छन् ।

मितालीले हालसम्म २१७ वानडेमा ५८ अर्धशतक र सात शतकसहित सर्वाधिक ७ हजार ३०४ रन बनाएकी छन् ।

मिताली विश्व एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने एक मात्र महिला क्रिकेटर हुन् ।

Loading...