द. अफ्रिकाले जित्यो टी-२० सिरिज, घरेलु मैदानमा वेष्ट इण्डिज निराश

काठमाडौं- वेष्ट इण्डिजसँगको टी-२० श्रृंखला पाहुना टोली दक्षिण अफ्रिकाले जितेको छ ।

गएराति भएको अन्तिम तथा पाँचौ खेलमा वेष्ट इण्डिजलाई २५ रनले हराउँदै दक्षिण अफ्रिकाले सिरिज ३-२ ले जितेको हो ।

सिरिजको निर्णायक खेलमा द. अफ्रिकाले दिएको १६९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।

उसका लागि इभन लुईसले ५२, शिमरोन हेटमायरले ३३, निकोलस पूरनले २०, किरण पोलार्डले १३ र क्रिस गेलले ११ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

आन्द्रे रसेल शून्य, लिन्डल सिमन्स तीन, डिजे ब्रावो एक रनमै आउट भए ।

बलिङमा लुंगी एनगिडीले तीन, विआन मुल्दरले दुई, तरबीज शम्सी र जर्ज लिन्डेले एक/एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको द. अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६८ रन बनायो ।

उसका लागि क्विन्टन डिकक र एडन मार्कमले अर्धशतकीय पारी खेले । डिककले ४२ बलमा चार चौका र दुई छक्कासहित ६० रनको योगदान दिए ।

यो सिरिजमा उनको यो लगातार तेस्रो अर्धशतक हो ।

त्यस्तै, मार्कमले ४८ बलमा चार छक्का र तीन चौकासहित ७० रन बनाए ।

डेविड मिलरले १८, विआन मुल्दरले अविजित ९ रन बनाउँदा रस्सीवानदर दुसेन १ र कप्तान तेम्बा बवुमा भने शून्यमै आउट भए ।

बलिङमा फिदेल इड्र्वासले दुई, डिजे ब्रावो र ओबेद म्याक्योले एक/एक विकेट लिए ।

दक्षिण अफ्रिकासँगको टी-२० श्रृंखलापछि अब वेष्ट इण्डिजले पाँच खेलकै सिरिज अष्ट्रेलियासँग खेल्दैछ ।

अष्ट्रेलिया-वेष्ट इण्डिजबीचको सिरिज १० जुलाईदेखि सुरु हुनेछ । दक्षिण अफ्रिकाले भने ११ जुलाईदेखि आयरल्याण्डसँग वानडे र टी-२० श्रृंखला खेल्ने छ ।

Loading...