अमेरिकामा नेपाली राइनोजको अर्को शानदार जित, बसन्त र पृथुको प्रदर्शनमा सुधार

काठमाडौं । अमेरिकामा जारी एलएल ओपन २०२१ च्याम्पियनसिप टी-२० प्रतियोगितामा नेपाली राइनोज अल स्टार्सले लगातार दोस्रो जित हासिल गरेको छ ।

उसले गएराति भएको खेलमा आरडीयू साम्प आर्मीलाई ४६ रनले हराउँदै नेपाली राइनोजले लगातार दोस्रो जित हासिल गरेको हो ।

नेपाली राइनोजबाट नेपाली राष्ट्रिय क्रिकेटर बसन्त रेग्मी र पृथु बास्कोटाले पनि खेलिरहेका छन् ।

राइट क्रिकेट फिल्डमा भएको खेलमा नेपाली राइनोजले दिएको १७९ रनको लक्ष्य पछ्याएको आरडीयू साम्प आर्मीले निर्धारित २० ओभर ब्याटिङ गर्दै ९ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।

File Photo

उसका लागि वेष्ट इण्डिजका अलराउन्डर एश्ले नर्शले आक्रामक पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।

उनले ३६ बलमा ३ चौका र ८ छक्कासहित ७० रन बनाए । त्यस्तै, गजानन्द सिंह २३, किर्क एडवार्ड १९ र रियद इमरित ५ रनमा आउट भए ।

बलिङमा बसन्त रेग्मी, अब्दुल्लाह गाजी र तिमिल पटेलले दुई/दुई, विपुल शर्मा, नईम योङ र मुर्नाल पटेलले एक/एक विकेट हात पारे ।

File Photo

बसन्तले दोस्रो खेलमा उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा एक मेडनसहित २ विकेट लिएर १४ रन मात्र खर्चिए ।

उनले कार्थिके जगदीश र सवारील पारिखलाई आउट गरेका हुन् ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली राइनोजले निर्धारित २० ओभरमा मात्र २ विकेटको क्षतिमा १७८ रन बनायो ।

File Photo

उसका लागि भारतलाई यू-१९ विश्वकप जिताउने टिमका सदस्य रहिसकेका स्मित पटेलले उत्कृष्ट इनिङ्स खेले । उनले ६३ बलमा ११ चौका र दुई छक्कासहित ९७ रन बनाए ।

यस्तै, पृथु बास्कोटाले २९ रन, मुर्नाल पटेलले २४ रन र नईम योङले १६ रनको योगदान दिए ।

बसन्त र पृथुको प्रदर्शनमा सुधार

पहिलो खेलभन्दा दोस्रो म्याचमा नेपाली क्रिकेटर बसन्त र पृथुले राम्रो प्रदर्शन गरे ।

बसन्तले अघिल्लो खेलमा मास्टर ब्लास्टर्सविरुद्ध एक विकेट मात्र लिन सकेका थिए । तर, दोस्रो खेलमा भने उनले किफायती बलिङका साथै दुई विकेट पनि हात पारे ।

त्यस्तै, पृथुले पनि अघिल्लो खेलभन्दा दोस्रो म्याचमा प्रदर्शनमा सुधार गरे । उनले पहिलो खेलमा ५ बलमा ३ रन मात्र बनाएका थिए ।

तर, दोस्रो खेलमा भने पृथुले स्मित पटेलसँग ९० रनको साझेदारी गर्नुका साथै २३ बलमा दुई छक्कासहित २९ रनको पनि योगदान दिए ।

लगातार दोस्रो जितसँगै नेपाली राइनोज समूह ‘सी’ को अंक तालिकाको शीर्ष स्थानमा छ । उसले चार अंक जोडिसकेको छ ।

नेपाली राइनोजले अर्को खेलमा आइतबार पीभी हरिकेविरुद्ध खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १२:४५ बजेदेखि सुरु हुनेछ ।

Loading...