नेपालमा क्रिकेट खेलिसकेका भाटीले बनाए टी-२० मा दोहोरो शतक

काठमाडौं- एक भारतीय खेलाडीले टी-२० क्रिकेटमा दोहोरो शतक बनाएका छन् । भारतका सुवोध भाटीले टी-२० क्रिकेटमा दोहोरो शतक बनाएका हुन् ।

उनले एक क्लब टी-२० प्रतियोगितामा ७९ बलमा १७ छक्का र १७ चौकाका साथ २०५ रनको आक्रामक पारी खेले ।

उनी दिल्लीका क्रिकेटर हुन् ।

दिल्ली-११ बाट खेल्दै भाटीले सिम्बाविरुद्ध यो उपलब्धि हासिल गरे । उनकै विशाल पारीमा दिल्लीले सिम्बालाई २५६ रनको विशाल लक्ष्य दियो ।

योसँगै भाटीले वेष्ट इण्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलको रकेर्ड भंग गरेका छन् ।

गेलले आईपीएल सन् २०१३ मा आरसीबीबाट खेल्दै पुणेविरुद्ध १७५ रनको पारी खेलेका थिए ।

अब गेलको सो रेकर्ड भाटीले तोडेका छन् । उनी अब टी-२० मा दोहोरो शतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् ।

३० वर्षका भाटीले हालसम्म दिल्लीबाट ८ पहिलो श्रेणी, २४ लिस्ट ‘ए’ र ३९ टी-२० म्याच खेलेका छन् ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने एक पारीमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान अष्ट्रेलियाका कप्तान आरोन फिन्चको नाममा छ ।

उनले सन् २०१८ मा जिम्बाब्वेविरुद्ध ७६ बलमा १७२ रन बनाएका थिए ।

सुवोधले पोखरा प्रिमियर लिग खेलेका थिए 

सुवोध भाटीले नेपालको फ्रेन्चाइज लिग पोखरा प्रिमियर लिग (पीपीएल) पनि खेलिसकेका छन् ।

उनले २०७६ सालको दोस्रो सिजनको पीपीएल खेलेका हुन् । भाटीले काठमाडौं गोल्डेन्सबाट पीपीएल खेलेका थिए ।

Loading...