धोनीको ब्रान्डले ‘एभरेष्ट प्रिमियर लिग’मा सह-प्रायोजन गर्ने

काठमाडौं- भारतीय ब्रान्ड ‘सेभेन’ ले आउँदो असोजमा हुने एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी-२० क्रिकेट प्रतियोगितालाई सह-प्रायोजन गर्ने भएको छ ।

यो ब्रान्डको सद्भावना दूत भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनी हुन् । यो ब्रान्डको जुत्तामा धोनीको पनि लगानी छ ।

सेभेन ‘फिटनेस र लाइफ-स्टाएल स्पोर्ट्सवेर’ ब्रान्ड हो । रीति ग्रुपअन्तर्गत रहेको ब्रान्ड २०१६ मा सुरु भएको थियो।

सेभेन अब इपिएलको किट पार्टनरको रूपमा रहनेछ। सेभेन इपिएलमा भाग लिने सबै ६ टिमको पनि पार्टनर हुनेछ।

ईपीएलसँग सहकार्य गर्न पाउनु आफूहरूका लागि अवसर भएको रीति ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण पाण्डेले बताए । गत वर्ष कोरोना भाइरसका कारण रोकिएको इपिएल आगामी असोज ९ देखि २३ सम्म गर्ने तय छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने इपिएलमा ६ टिमबीच प्रतिस्पर्धा हुँदै आएको छ ।

जसमा काठमाडौं किङ्स इलेभेन, ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्स छन् ।

Loading...