धेरैपछि चल्यो गेलको ब्याट, दिलाए वेष्ट इण्डिजलाई फराकिलो जित

काठमाडौं : अष्ट्रेलियासँगको टी-२० सिरिजको तेस्रो खेलमा वेष्ट इण्डिज ६ विकेटले विजयी भएको छ।

योसँगै पाँच खेलको सिरिज घरेलु टोली वेष्ट इण्डिजले दुई खेल अगावै जितेको छ।

सिरिजमा वेष्ट इण्डिजले ३-० को अग्रता बनाएको छ।

आज बिहान भएको तेस्रो म्याचमा अष्ट्रेलियाले वेष्ट इण्डिजलाई १ सय ४२ रनको लक्ष्य दिएको थियो। १ सय ४२ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले १४ ओभर ५ बलमा ४ विकेट गुमाएर लक्ष्य भेटायो।

उसका लागि क्रिस गेलले सर्वाधिक ६७ रनको योगदान दिए।  ३८ बलको सामना गरेका गेलले चौका र छक्काको वर्षा गरे। उनले ४ चौका र ७ छक्का हिर्काए।

यो सँगै गेलले टी–२० क्रिकेटमा १४००० रन पूरा गरेका छन्।

यस्तै निकोलस पूरनले ३२ र आन्द्रे रसलले नटआउट ७ रन बनाए। लेन्डल सिमन्सले १५, ड्वेन ब्राभोले ७ र आन्द्रे फ्लेचरले ४ रन बनाए। अष्ट्रेलियाका लागि रिले मेरीडिथ दुई, मिचेल मार्शले एक विकेट लिए।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनायो।

उसका लागि मोइसेस हेनरिक्सले सर्वाधिक ३३, कप्तान आरोन फिन्चले ३०, एश्टन टर्नरले २४, म्याथ्यू वेडले २३, एलेक्स क्यारीले १३, मिचेल मार्शले ९ रन बनाए।

अष्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा बलिङमा ह्याडन वाल्स जुनियरले दुई, ओबेद म्याक्यो, डिजे ब्रावो र फाबियन आलेनले एक/एक विकेट लिए।

योजितसँगै पाँच खेलको सिरिजमा वेष्ट इण्डिजले ३-० को अग्रता बनाएको छ । यी दुई टोलीबीचको चौथो खेल बिहीबार हुनेछ ।

खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ ।

Loading...