विनोदको शतकका बाबजुद आर्मी पराजित

काठमाडौं- काठमाडौंमा जारी मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशविरुद्ध त्रिभुवन आर्मी क्लब १० रनले पराजित भएको छ ।

बागमतीले दिएको २ सय ६७ रनको लक्ष्य पछ्याएको आर्मीले ४७.१ ओभरमा सबै विकेट गुमाएर २ सय ५६ रन बनायो ।

उसका लागि विनोद भण्डारीले शतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ११४ बलमा सात छक्का र आठ चौकासहित १ सय १४ रन बनाए ।

त्यस्तै, लोकेश बमले  ४६, करण केसीले २४ र रोहितकुमार पौडेलले १५ रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा अरियो पौडेल एक्लैले पाँच विकेट हात पारे । उनले ८.१ ओभरमा ४६ रन दिएर पाँच विकेट हात पारेका हुन् । त्यस्तै, रामनरेश गिरीले दुई, नन्दन यादव, सोनु देवकोटा र पारस खड्काले एक/एक विकेट लिए ।

त्यसअघि, कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको बागमतीले ४९.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय ६६ रन बनायो ।

उसका लागि पारस खड्काले शतकीय पारी खेले । उनले १३३ बलमा ११ चौका र दुई छक्कासहित ११९ रनको पारी खेलेका हुन् ।

त्यस्तै, नन्दन यादवले अविजित ४२, इशान पाण्डेले २६, आदिल खानले २१ र पृथु बास्कोटाले १२ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा सोमपाल कामीले १० ओभरमा ६५ रन दिएर पाँच विकेट लिए । त्यस्तै, करण केसी, साहब आमल, जितेन्द्र मुखिया र बिक्रम सोबले एक/एक विकेट लिए ।

आर्मीलाई हराए पनि बागमती फाइनल पुग्न अससफल भएको छ । बागमतीले चार खेलमा दुइमा जित र दुई खेलमा हारको सामना गर्न पुग्यो । आर्मीले भने चारमध्ये एक खेलमा मात्र जित हासिल गर्न सक्यो ।

Loading...