जिम्बाब्वेमाथि बंगलादेशको फराकिलो जित, नइम र सरकारको उत्कृष्ट पारी

काठमाडौं– जिम्बाब्वेसँगको टी-२० सिरिजको पहिलो खेलमा पाहुना टोली बंगलादेश ८ विकेटले विजयी भएको छ ।

जिम्बाब्वेले दिएको १ सय ५३ रनको लक्ष्य बंगलादेशले १८.५ ओभरमा २ विकेट गुमार पूरा गर्‍यो ।

उसका लागि मोहम्मद नइम र सौम्य सरकारले अर्धशतकीय पारी खेले । नइमले ५१ बलमा सात चौकाको मद्दतमा अविजित ६६ रन र सरकारले ४५ बलमा चार चौका र दुई छक्काको मद्दतमा ५० रन बनाए ।

त्यस्तै, कप्तान महमुदुल्लाले १५ र नुरल हसनले नटआउट १६ रन बनाए ।

त्यसअघि,  टस जितेर ब्याटिङ रोजेको जिम्बाब्वेले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ५२ रन बनायो ।

उसका लागि विकेटकीपर ब्याट्सम्यान रेगिस चकब्वाले आक्रामक पारी खेले । उनले २२ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ४३ रन बनाए ।

त्यस्तै, ड्वीन मेयर्सले ३५, वेल्से मधेभरेले २३ र ल्यूक जोगन्वेले १८ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा मुस्ताफिजुर रहमानले तीन, मोहम्मद सैफउद्दिन, सर्फुल इस्लामले दुई/दुई, सकिबअल हसल र सौम्य सरकारले एक/एक विकेट हात पारे ।

यो जितसँगै तीन खेलको सिरिजमा बंगलादेशले १–० को अग्रता बनाएको छ । यी दुई टोलीबीचको दोस्रो खेल भोलि हुनेछ ।

Loading...