जिम्बाब्वेले विशाल लक्ष्य दिँदा बंगलादेश विजयी

काठमाडौं– जिम्बाब्वेसँगको तीन म्याचको टी-२० सिरिज बंगलादेशले ‘क्लिनस्विप’ गरेको छ । आजको खेलमा जिम्बाब्वेलाई ५ विकेटले हराउँदै बंगलादेशले सिरिजमा ३-० ले ‘क्लिनस्विप’ गरेको हो ।

जिम्बाब्वेले दिएको १ सय ९४ रनको विशाल लक्ष्य बंगलादेशले १९. २ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि सौम्या सरकारले अर्धशतकीय पारी खेले । उनले ४९ बलमा ९ चौका र १ छक्काको मद्दतमा ६८ रन बनाए ।

त्यस्तै, कप्तान महमुदुल्लाहले ३४, शमीम हुसेनले अविजित ३१, शकिबअल हसनले २५ र अफिफ हुसेन धु्रबोले नटआउट १४ रनको योगदान दिए ।

बलिङमा ल्यूक जोगन्वे, ब्लेसिंग मुजरबानीले दुई-दुई र वेलिंग्टन कसाकादजाले एक विकेक लिए ।

त्यसअघि, जितेर पहिला ब्याटिङ रोजेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनायो ।

उसका लागि वेल्से मधेवरे र रेजिस चक्बाले विस्फोटक पारी खेले । वेल्सेले ३६ बलमा ६ चौकाको मद्दतमा ५४ र रेजिसले २२ बलमा ६ छक्काको मद्दतमा ४८ रन बनाए ।

त्यस्तै, रायन बर्लले पनि आक्रिमक पारी खेले । उनले १५ बलमा २ छक्का र ३ चौकाको मद्दतमा अनआउट ३१ रन बनाए । त्यस्तै, तडिवनाशे मारुमानीले २७ र डिओन येयर्सले २३ रन बनाए ।

बलिङमा सौम्या सरकाराले दुई, शकिबअल हसल, मोहम्मद सैफुद्दीन र शेरिफुल इस्लामले एक/एक विकेट लिए ।

Loading...