पहिलो म्याचमा भारतको शानदार जित, सूर्यकुमारले रचे इतिहास

काठमाडौं । श्रीलंकासँगको टी-२० सिरिजको पहिलो खेलमा भारत ३८ रनले विजयी भएको छ ।

यो जितसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ ।

गएराति सम्पन्न पहिलो खेलमा भारतले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो ।

उसका लागि चरिथा असलान्काले सर्वाधिक ४४ रन बनाए । बलिङमा भुवनेश्वर कुमारले सर्वाधिक चार विकेट लिए ।

उनले ३.३ ओभरमा २२ रन दिएर चार विकेट लिएका हुन् ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनायो ।

उसका लागि सूर्यकुमार यादव र कप्तान शिखर भवनले उत्कृष्ट पारी खेले ।

सूर्यले ३४ बलमा दुई छक्का र पाँच चौकासहित ५० र धवनले ३६ बलमा चार चौका र एक छक्काको मद्दतमा ४६ रन बनाए ।

त्यस्तै, सञ्जु सामसनले २७, इशान किशनले अविजित २० र हार्दिक पाण्ड्याले १० रनको योगदान दिए ।

बलिङमा वानिन्दु हसरंगा, दुश्मन्था चामेराले दुई/दुई र चमिका करुणारत्नले एक विकेट लिए । श्रीलंका र भारतबीचको दोस्रो टी-२० म्याच बुधबार हुनेछ ।

सूर्यकुमारले बनाए कीर्तिमान

भरतीय टोलीका ब्याट्सम्यान सूर्यकुमार यादवले नयाँ कीर्तिमान बनाएका छन् । उनले भारतको तर्फबाट पहिलो तीन टी-२० मा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका हुन् ।

गएराति सम्पन्न श्रीलंकासँगको टी-२० श्रृंखलाको पहिलो म्याचमा ५० रन बनाएसँगै यो उपलब्धि हासिल गरेका हुन् ।

उनले हालसम्म तीन टी-२० मा ४६.३३ को औसतमा सर्वाधिक १३९ रन बनाएका छन् ।

योसँगै सूर्यले पूवैब्याट्सम्यान गौतम गम्भीरको रेकर्ड तोडेका छन् ।

यसअघि भारतको तर्फबाट टी-२० को तीन पारीमा सर्वाधिक रन बनाउने कीर्तिमान गम्भीरको नाममा थियो ।

उनले तीन पारीमा १०९ रन बनाएका थिए ।

यो मामलामा सुरेश रैना (९९ रन) तेस्रो, रोहित शर्मा (८८ रन) चौथो र मन्दीप शर्मा (८७ रन) पाँचौ स्थानमा छन् ।

Loading...