निर्णायक म्याचमा वेष्ट इण्डिजमाथि अष्ट्रेलियाको फराकिलो जित

काठमाडौं– वेष्ट इण्डिजसँगको एकदिवसीय सिरिज पाहुना टोली अष्ट्रेलियाले जितेको छ ।

आज बिहान भएको तेस्रो खेलमा वेष्ट इण्डिजलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले २-१ ले सिरिज जितेको हो ।

सिरिजको तेस्रो खेलमा वेष्ट इण्डिजले दिएको १ सय ५३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ३०.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि म्याथ्यू वेडले अविजित ५१, कप्तान एलेक्स क्यारीले ३५, मिचेल मार्शले २९, एस्टन अगरले नटआउट १९, जोश फिलिपेले १० र मोइसेस हेनरिक्सले एक रनको योगदान दिए ।

बलिङमा हेडन वाल्स, अल्जारी जोसेफ, अकिल होसेन र सेल्ड्रन कोट्रेलले एकएक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिजले ४५.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सक्यो ।

उसका लागि इभन लुईसले अविजित अर्धशतकीय पारी खेले । उनले ६६ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ५५ रन बनाए ।

त्यस्तै, डारेन ब्रावोले १८, अल्जारी जोसेफले १५, साई होपले १४ र कप्तान किरण पोलार्डले ११ रन बनाए ।

निकोलश पूरन (२), शिमरोन हेटमायर (६) र जेसन होल्डर (५) भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा मिचेल स्टार्कले उत्कृष्ट प्रदर्शन गरे । उनले ९.१ ओभरमा ४३ रन दिएर तीन विकेट लिए ।

त्यस्तै, एडम जम्पा, जोश हेजलउड, एस्टन अगरले दुई/दुई र एस्टन टर्नरले एक विकेट हात पारे ।

Loading...