अष्ट्रेलियासँगको वानडे सिरिज गुमाएपछि यसो भन्छन् कप्तान पोलार्ड

काठमाडौं– वेस्ट इण्डिज क्रिकेट टीमका कप्तान किरण पोलार्डले अष्ट्रेलियाविरुद्धको तीन खेलको वानडे सिरिज गुमाएपछि प्रतिक्रिया दिएका छन्।

उनले अन्तिम खेल हार्नुमा ब्याट्सम्यानको कमजोरी भएको बताएका हुन्।

‘पक्कै पनि हामीले राम्रो ब्याटिङ गरेनौं । विकेट अलि गाह्रो थियो। तर, प्रारम्भिक विकेट गुमाउनु हाम्रो लागि घातक साबित भयो,’ उनले म्याच सकिएपछि भनेका छन्, ‘हाम्रा ब्याट्सम्यान साझेदारी बनाउन सक्षम छैनन् । ,र यसले हामीलाई ठूलो चोट पुर्‍याइरहेको छ । यदि हामीले यस पिचमा २२० स्कोर गरेका भए स्थिति फरक हुन सक्थ्यो। म सहमत छु कि हामीले धेरै नराम्रो ब्याटिङ गर्‍यौँ ।’

पोलार्डका अनुसार वेस्ट इण्डिजले मात्र होइन अष्ट्रेलियाले पनि यस खेलमा संघर्ष गरेको थियो र यो अन्तर्राष्ट्रिय क्रिकेटको लागि ठीक होइन्।

‘दुवै टोलीले ब्याटिङ गर्दा सहज भएन । यो लय अन्तर्राष्ट्रिय क्रिकेटको लागि ठीक छैन। हामी बहाना बनाइरहेका छैनौं। हामीले नराम्रो ब्याटिङ गरेको कुरा स्वीकार्नुपर्‍यो । जब दुई टोली एक अर्काविरुद्ध प्रतिस्पर्धा गरिरहेका छन् र त्यसपछि यो स्कोर बनेको छ भने यो धेरै लाजमर्दो छ । म केवल भन्न चाहन्छु कि अष्ट्रेलिया टीमले हामीभन्दा राम्रो खेलेको हो,’ उनले भनेका छन् ।

आज बिहान भएको निर्णाय म्याचमा अष्ट्रेलियाविरुद्ध वेष्ट इण्डिज ६ विकेटले पराजित भयो ।

यो जितसँगै अष्ट्रेलियाले २-१ ले सिरिज जितेको छ । सिरिजको तेस्रो खेलमा वेष्ट इण्डिजले दिएको १ सय ५३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ३०.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि म्याथ्यू वेडले अविजित ५१, कप्तान एलेक्स क्यारीले ३५, मिचेल मार्शले २९, एस्टन अगरले नटआउट १९, जोश फिलिपेले १० र मोइसेस हेनरिक्सले एक रनको योगदान दिए ।

बलिङमा हेडन वाल्स, अल्जारी जोसेफ, अकिल होसेन र सेल्ड्रन कोट्रेलले एक/एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिजले ४५.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सक्यो ।

उसका लागि इभन लुईसले अर्धशतकीय पारी खेले । उनले ६६ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ५५ रन बनाए ।

त्यस्तै, डारेन ब्रावोले १८, अल्जारी जोसेफले १५, साई होपले १४ र कप्तान किरण पोलार्डले ११ रन बनाए ।

निकोलश पूरन, शिमरोन हेटमायर र जेसन होल्डरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा मिचेल स्टार्कले तीन, एडम जम्पा, जोश हेजलउड, एस्टन अगरले दुई/दुई र एस्टन टर्नरले एक विकेट हात पारे ।

अष्ट्रेलिया सिरिजको पहिलो खेलमा विजयी र दोस्रो म्याचमा पराजित भएको थियो ।

Loading...