दक्षिण अफ्रिकासँग इंग्ल्याण्ड ८ विकेटले पराजित

काठमाडौं- भारतमा जारी रोड सेफ्टी टी-२० वर्ल्ड सिरिजअन्तर्गत दक्षिण अफ्रिका लेजेन्ड्सविरुद्ध इंग्ल्याण्ड लेजेन्ड्स ८ विकेटले पराजित भएको छ । जारी सिरिजमा इंग्ल्याण्डको यो पहिलो हार हो ।

इंग्ल्याण्डले तीन म्याच खेल्दा दुईमा जित र एक खेलमा हार ब्यहोरेको छ ।

छत्तिसगढको रायपुरमा इंग्ल्याण्डले दिएको १ सय २२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि मोर्नेभ्यान विकले ४६, अल्भिरो पीटरसनले अविजित ३१ एन्ड्रयू पुटिकले २३ र कप्तान जोन्टी रोड्सले नटआउट १७ रन बनाए ।

बलिङमा जेम्स ट्रेडवेल र उश्मान अफ्जलले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको इंग्ल्याण्ड लेजेन्ड्सले १८।१ ओभरमा सबै विकेट गुमाएर १ सय २१ रन बनायो ।

उसका लागि ड्यारेन म्याड्डीले २५, क्रिस ट्रेमलेटले २३, कप्तान केविन पीटरसनले २१, क्रिस स्कोफिल्डले १२ र उश्मान अफ्जलले १० रन बनाए ।

बलिङमा ठान्डी सम्बलाले सर्वाधिक तीन विकेट लिए । जारी सिरिजमा दक्षिण अफ्रिकाको यो दोस्रो जित हो । उसले तीन म्याच खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ ।

गौतम बुद्ध रंगशालाको ७७ नम्बरको कुर्सी बिक्री

चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रहेको ७७ नम्बरको कुर्सी खरिद गरिएको छ । सो नम्बरको कुर्सी नेपाली क्रिकेट फ्यान अन फेसबुक ग्रुप (एनसीएफएफ) ले खरिद गरेको हो ।

फेसबुकमा रहेका क्रिकेट समर्थकको समूह एनसीएफएफले सहयोग संकलन गरेर नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको जर्सी नम्बर ७७ को सिट आफ्नो नाममा बनाएको फाउण्डेसनका प्रतिनिधि कुमार कट्टेलले जानकारी दिए ।

उनका अनुसार एनसीएफएफले ७७ नम्बरको कुर्सी आफूहरूको नाममा दिन आग्रह गरेपछि सो कुर्सी दिने निर्णय गरिएको हो ।

कुर्सी अभियानमा उठेको रकम केही दिनमा फाउण्डेसनलाई हस्तान्तरण गरिने एनसीएफएफका सिनियर एडमिन सागर खरेलले जानकारी दिए ।

Loading...