पृथ्वीले रचे इतिहास, जिताए मुम्बईलाई उपाधि

काठमाडौं- भारतको चर्चित विजय हजारे ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि मुम्बईले जितेको छ । फाइनलमा आज उत्तर प्रदेशलाई ६ विकेटले हराउँदै मुम्बईले चौथो पटक विजय हजारे ट्रफी जितेको हो ।

फाइनलमा उत्तर प्रदेशले दिएको ३ सय १३ रनको लक्ष्य मुम्बईले ४१‍३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि आदित्य तारेले शतकीय पारी खेले । उनले ११८ बलमा १८ चौकासहित अविजित ११८ रनको योगदान दिए ।

त्यस्तै, कप्तान पृथ्वी शाले ७३, शिवम दुवेले ४२, साम्स मुल्नीले ३६ र यशस्वी जैसवालले २९ रन बनाए । बलिङमा शिवम् शर्मा, शिवम् माभी, समीर चौधरी र यश दयालले एक/एक विकेट हात पारे ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको उत्तर प्रदेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय १२ रन बनायो ।

उसका लागि माधव कौसिकले शतकीय पारी खेले । उनले १५६ बलमा १५ चौका र चार छक्कासहित अविजित १५८ रन बनाए ।

त्यस्तै, समर्थ सिंह, अक्षदीप नाथले ५५/५५ र प्रियम गर्गले २१ रनको योगदान दिए ।

बलिङमा तनुष कोटियनले दुई र प्रशान्त शोलंकीले एक विकेट लिए ।

पृथ्वीले बनाए नयाँ कीर्तिमान

यो सिजनको विजय हजारे ट्रफीमा पृथ्वीले कूल ८ म्याच खेले । उनले ८ म्याचमा ८ सय २७ रन बनाए । योसँगै पृथ्वीले नयाँ कीर्तिमान बनाएका छन् ।

पृथ्वी अब विजय हजारे ट्रफीको एक संस्करणमा ८ सय बढी रन बनाउने पहिलो ब्याट्सम्यान बनेको छन् ।

उनले यो पटक चार शतक र एक अर्धशतकको मद्दतमा ८ सय २७ रन बनाए । यो पटक पृथ्वीको उत्कृष्ट पारी अविजित २ सय २७ हो ।

यसअघि विजय हजारे ट्रफीको एक सिजनमा सर्वाधिक रन बनाउने कीर्तिमान मयंक अग्रवालको नाममा थियो ।

उनले २०१८ को सिजनमा ७ सय २३ रन बनाएका थिए ।

Loading...