भारतको फराकिलो जित, विराटले बनाए २ कीर्तिमान

काठमाडौं- इंग्ल्याण्डसँगको टी-२० सिरिजको दोस्रो खेलमा भारत ७ विकेटले विजयी भएको छ । इंग्ल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १७.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि कप्तान विराट कोहली र इशान किशनले अर्धशतकीय पारी खेले । विराटले ४९ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ७३ तथा इशानलले ३२ बलमा चार छक्का र पाँच चौकासहित ५६ रनको योगदान दिए ।

इशानको यो डेब्यू म्याच हो ।

त्यस्तै, ऋषभ पन्तले २६ र श्रेयस अय्यरले अविजित ८ रन बनाए । बलिङमा साम करन, क्रिस जोर्डन र आदिल रशिदले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनायो ।

उसका लागि जेसन रोयले ४६, कप्तान इयोन मोर्गनले २८, डेविड मलान र बेन स्टोक्सले २४/२४ रन बनाए ।

बलिङमा वासिङ्टन सुन्दर, शार्दुल ठाकुरले २/२, भुवनेश्वर कुमार र युजवेन्द्र चहलले एक/एक विकेट लिए ।

आजको खेलसँगै जितेसँगै पाँच खेलको सिरिज भारतले १-१ को बराबरीमा ल्याएको छ । पहिलो खेलमा भारत ८ विकेटले पराजित भएको थियो ।

विराटले बनाए नयाँ कीर्तिमान

विराट टी-२० मा तीन हजार रन बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् । आज ७३ रन बनाएसँगै उनी टी–२० मा तीन हजार रन बनाउने पहिलो ब्याट्सम्यान बनेका हुन् ।

त्यस्तै, अन्तर्राष्ट्रिय टी-२० मा कप्तान कोहलीले अर्को कीर्तिमान पनि बनाएका छन् । उनले टी-२० मा सर्वाधिक अर्धशतक बनाउने कीर्तिमान बनाएका हुन् ।

हालसम्म विराटले टी-२० मा २६ अर्धशतक बनाएका छन् । यसअघि उनी र रोहित शर्मा २५/२५ अर्धशतकका साथ संयुक्त रूपमा शीर्ष स्थानमा थिए । अब विराट रोहितलाई पछि पार्दै यो सूचीको शीर्ष स्थानमा उक्लिएका छन् ।

यो सूचीको तेस्रो स्थानमा अष्ट्रेलिया टिमका ओपनर डेविड वार्नरको नाम छ । उनले हालसम्म अन्तर्राष्ट्रिय टी-२० मा १८ अर्धशतक बनाएका छन् ।

 

Loading...