श्रीलंकासँगको वानडे सिरिज वेष्ट इण्डिजद्वारा ‘क्लिनस्विप’

काठमाडौं- श्रीलंकासँगको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा पनि वेष्ट इण्डिज ५ विकेटले विजयी भएको छ ।

योसँगै श्रीलंकासँगको तीन खेलको वानडे सिरिज वेष्ट इण्डिजले ३-० ले ‘क्लिनस्विप’ गरेको छ ।

तेस्रो खेलमा श्रीलंकाले दिएको २ सय ७५ रनको लक्ष्य वेष्ट इण्डिजले ४८.३ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो ।

उसका लागि डारेन ब्रावोले शतकीय पारी खेले । उनले १३२ बलमा चार छक्का र पाँच चौकासहित अविजित १०२ रन बनाए ।

त्यस्तै, साई होपले ६४, कप्तान किरण पोलार्डले अविजित ५१, निकोलश पूरनले १५, जसन होल्डरले नटआउट १४ र इभन लुईसले १३ रनको योगदान दिए ।

बलिङमा सुरंगा लकमलले दुई, धनुष्का गुणतिलका, थिसरा परेरा र वाविन्दु हसरंगाले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन बनायो ।

उसका लागि वाविन्दु हसरंगाले ८०, असेन भन्डाराले अविजित ५५, धनुष्का गुणतिलकाले ३६, कप्तान दिमुथ करुणारत्नेले ३१, पथम निशंकाले २४, दसुन शनाकाले २२ र दिनेश चन्डिमलले १६ रन बनाए ।

बलिङमा अकिल होसेनले तीन, जसन मोहम्मद र अल्जारी जासेफले एक/एक विकेट हात पारे । टी-२० र वानडे सिरिजपछि अब श्रीलंका र वेष्टइण्डिजले दुई खेलको टेष्ट सिरिज खेल्दै छन् ।

यी दुई टिमबीचको टेष्ट सिरिज २१ मर्चदेखि सुरु हुनेछ ।

Loading...