डेब्यू म्याचमै इशान किशनले बनाए २ कीर्तिमान

काठमाडौं- भारतीय क्रिकेट टिमका युवा ब्याट्सम्यान इशान किशनले डेब्यू म्याचमै आक्रामक ब्याटिङ गरे ।

डेब्यूमै इंग्ल्याण्डविरुद्ध ५६ रनको अर्धशतकीय पारी खेल्दै उनले धेरैलाई प्रभावित पारेका छन् ।

इशानले त्यसक्रममा चार छक्का र पाँच चौका हिर्काए । योसँगै उनले डेब्यू टी-२० मै चार छक्का हिर्काउने पहिलो भारतीय ब्याट्सम्यानको कीर्तिमानसमेत बनाएका छन् ।

यसअघि भारतीय टिमको तर्फबाट टी-२० डेब्यूमा राहुल द्रविड र मुरली विजयले तीन/तीन छक्का हिर्काएका थिए ।

विजयले २०१० र द्रविडले २०११ म यो उपलब्धि हासिल गरेका थिए । अब यी दुवै ब्याट्सम्यानको कीर्तिमान इशानले भंग गरेका छन् ।

विश्व क्रिकेटको कुरा गर्दा डेब्यू टी-२० मा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान सर्बियाका लेस्ली डेनबार र क्यानाडाका रविन्दरपाल सिंहको नाममा छ । यी दुवै ब्याट्सम्यानले डेब्यू टी-२० मा १०/१० छक्का प्रहार गरेका थिए ।

साथै, इशानले डेब्यूमै अर्धशतक बनाउने दोस्रो भारतीय खेलाडीको उपलब्धि पनि हासिल गरेका छन् ।

उनले आइतबार राति भएको इंग्ल्याण्डसँगको खेलमा ३२ बलमा ५६ रन बनायो यो उपलब्धि हासिल गरेका हुन् ।

डेब्यू टी-२० म्याचमै ५० प्लसको रन बनाउने इशान विश्वको ४४औँ खेलाडी बनेका छन् ।

डेब्यू टी-२० मा सर्वाधिक ठूलो पारी खेल्ने भारतीय खेलाडीको कीर्तिमान भने अजिंक्य रहाणेको नाममा छ । उनले सन् २०११ म इंग्ल्याण्डविरुद्ध डेब्यू टी-२० मा ६१ रनको पारी खेलेका थिए ।

विराटले बनाए नयाँ कीर्तिमान

विराट टी-२० मा तीन हजार रन बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् । आज ७३ रन बनाएसँगै उनी टी-२० मा तीन हजार रन बनाउने पहिलो ब्याट्सम्यान बनेका हुन् ।

त्यस्तै, अन्तर्राष्ट्रिय टी-२० मा कप्तान कोहलीले अर्को कीर्तिमान पनि बनाएका छन् । उनले टी-२० मा सर्वाधिक अर्धशतक बनाउने कीर्तिमान बनाएका हुन् ।

हालसम्म विराटले टी-२० मा २६ अर्धशतक बनाएका छन् । यसअघि उनी र रोहित शर्मा २५र२५ अर्धशतकका साथ संयुक्त रूपमा शीर्ष स्थानमा थिए ।

अब विराट रोहितलाई पछि पार्दै यो सूचीको शीर्ष स्थानमा उक्लिएका छन् ।

यो सूचीको तेस्रो स्थानमा अष्ट्रेलिया टिमका ओपनर डेविड वार्नरको नाम छ । उनले हालसम्म अन्तर्राष्ट्रिय टी-२० मा १८ अर्धशतक बनाएका छन् ।

Loading...