भारतीय मिडियामा नेपालको कीर्तिमानी जितको चर्चा

काठमाडौं- आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानसँगको एकदिवसीय म्याचमा नेपाल ७ विकेटले विजयी भयो ।

गएराति सम्पन्न खेलमा ओमानले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८.२ ओभरमा पूरा गर्‍यो । नेपालको जितमा अलराउन्डर करणको योगदान पनि महत्वपूर्ण रह्यो ।

उनले बलिङमार्फत ८ ओभरमा एक मेडनसहित २५ रन खर्चदै महत्वपूर्ण चार विकेट लिए । करण ‘प्लेयर अफ द म्याच’ पनि घोषित भए ।

त्यस्तै, सन्दीप लामिछानले ८.१ ओभरमा दुई मेडनसहित १८ रनदिएर ४ विकेट लिए । ओमानलाई १२२ रनमै समेट्नमा करण र सन्दीपको भूमिका महत्वपूर्ण रह्यो ।

त्यस्तै, अनभवी अलराउन्डर शरद भेषवाकरले ६ ओभरमा एक मेडनसहित २१ रन दिएर दुई विकेट लिए ।ब्याटिङमा ज्ञानेन्द्र मल्लले ४६ बलमा दुई छक्का र चार चौकासहित अविजित ५२ रन बनाए ।

त्यस्तै, आसिफ शेखले ४४ बलमा सात चौकाको मद्दतमा ४१ रनको योगदान दिए । कुशल भुर्तेल र रोहितकुमार पौडेल ६/६ रनमा आउट हुँदा शरद भेषवाकर एक रनमा अविजित रहे ।

ओमानविरुद्ध नेपालको यो ऐतिहासिक जित हो । हालसम्म नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ओमानलाई हराउन सकेको थिएन ।

नेपालको ऐतिहासिक जितबारे विदेशी मिडियाले पनि समाचार लेखेका छन् । भारतको चर्चित खेल अनलाइन स्पोट्सकीडाले शीर्षमा लेखेको छ, ‘नेपालले आईसीसी क्रिकेट वर्लड कप लिग म्याचमा ओमानलाई ७ विकेटले हरायो ।’

अर्को अनलाइन क्रीक्सलोडले भने नेपालले जितेको समाचार लेखेको छ । उसले ‘ओमानमाथि नेपालको कीर्तिमानी जित’ भनेर लेखेको छ ।

भारतको चर्चित पत्रिका हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले भने नेपाल र ओमानबीचको म्याचको स्कोर अपडेट गरेको छ ।

त्यस्तै, गेट इण्डिया न्युजले पनि नेपालको जितबारे समाचार लेखेको छ । उसले ‘विश्वकप लिग-२ मा ओमानविरुद्ध नेपालल ७ विकेटले विजयी’ शीर्षक राखेर समाचार प्रकाशित गरेको छ ।

Loading...