स्वदेश पुगेलगत्तै यस्तो भन्छन् कुशल भुर्तेल

काठमाडौं- इसिसी विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकाविरूद्धको त्रिकोणात्मक सिरिज खेलेको नेपाली टिम मंगलबार स्वदेश आइपुगेको छ।

ओमानमा भएको सिरिजमा नेपालले चार खेल खेलेको थियो। जसमा नेपालले ओमान र अमेरिका दुवैसँग समान १ खेलमा जित र १ खेलमा हार बेहोरेको थियो।

सिरिजअघि नेपालले पपुवा न्युगिनी (पिएनजी)सँग दुई एकदिवसीय खेल खेलेको थियो। दुवै खेलमा नेपाल विजयी भएको थियो।

ओमानमा ६ वटै खेलमा ओपनिङ गरेका कुशल भुर्तेल समग्रमा भ्रमण सफल भएको बताउँछन्।

‘पिएनजीसहित ६ खेल खेल्यौ। जसमा चार खेलमा जित निकाल्यौ। यो राम्रो पक्ष हो। युएस वा ओमानसँग एक जित अझै हुन सक्थ्यो। त्यसका लागि दु:खी छौ। समग्रमा राम्रो भयो,’ कुशलले भने।

६ खेलमा कुशलले एक अर्धशतक प्रहार गरेका थिए। उनले पिएनजीविरूद्ध १५ र ३ रन, अमेरिकाविरूद्ध ८४ रन र ३६ रन तथा ओमानविरुद्ध शून्य र ६ रन बनाएका थिए।

पहिलो पटक एकदिवसीयमा ओपनिङ गर्दा आफूले पाएको भूमीका निर्वाह गरेको बताउँदै कुशलले व्यक्तिगत प्रदर्शनमा भने सन्तुष्ट नभएको बताए।

‘आसिफ शेख र मैले एकदिवसीयमा पहिलो पटक ओपनिङ गर्‍यौं। हामीलाई जुन भूमीका दिइएको थियो। त्यही काम गरिरहेका थियौं,’ उनले भने, ‘व्यक्तिगत प्रदर्शनमा खासै सन्तुष्ट छैन। प्रत्येक खेलमा रन बनाउने सोचेको थिए। त्यसमा सफल भइन।’

 

Loading...