विश्वकपमा भारतको अर्को फराकिलो जित, शफालीले गरिन् चौका/छक्काको वर्षा

काठमाडौं ।

दक्षिण अफ्रिकामा जारी यू-१९ महिला टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्ने क्रममा भारतले सोमबार यूएईलाई १ सय २२ रनले हरायो । पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई सात विकेटले हराएको थियो । यूएईको यो पहिलो हार हो । उसले पहिलो खेलमा स्कटल्याण्डलाई ६ विकेटले हराएको थियो ।

आफ्नो दोस्रो खेलमा भारतले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो । उसका लागि महिका गौरले २६, लावन्या केनीले २४ र कप्तान तीर्थ सतीशले १६ रन बनाए । भारतका लागि पार्श्वी चोपडा, मन्नत कश्यप, तितस साधु र शबनम एमडीले एक/एक विकेट लिए ।

त्यसअघि बेनोनीस्थित विलोमूर पार्कमा टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय १९ रन बनायो । उसका लागि कप्तान शफाली वर्मा र श्वेता सेहरावतले आक्रामक पारी खेले । ३४ बलको सामना गरेकी शफालीले १२ चौका र चार छक्कासहित ७८ रन बनाइन् ।

सेहरावतले ४९ बलमा १० चौकाको सहयोगमा अविजित ७४ रन बनाइन् । ऋचा घोषले २९ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ४९ रनको पारी खेलिन् । गोंगडी तृषाले ११ रन जोडिन् । यूएईका लागि समाइरा धरनिधर्क, महिका गौर र इन्धुजा नन्दकुमारले एक/एक विकेट लिए ।

Leave A Reply

Your email address will not be published.