आईसीसीले अफगान टोलीलाई टी-२० विश्वकपमा नदिन सक्छ अनुमति

काठमाडौं– अफगानिस्तानमा तालिबान नेतृत्वमा आएपछि त्यहाँको क्रिकेटमा पनि विभिन्न समस्या सिर्जना हुन थालेको छ । तालिबानले बोर्डदेखि विभिन्न क्रिकेट निकायमा हस्तक्षेप गर्न थालिसकेको छ ।

ताबिलानले बोर्ड नेतृत्वमा पनि आफ्नो पक्षका व्यक्तिलाई नियुक्त गरिरहेको छ । केही दिनअघि मात्र राशिद खानले टी-२० टोलीको कप्तानीबाट राजीनामा दिएका थिए ।

तालिबानले क्रिकेटरभन्दा गैर-क्रिकेटरलाई टिममा स्थान दिन दबाब दिएको भन्दै राशिदसहित केही खेलाडी असन्तुष्ट छन् । एक चर्चित सञ्चारमाध्यमका अनुसार आईसीसीले अफगान टोलीमाथि प्रतिबन्ध लगाउने सम्भावना छ ।

यदि विश्वकपमा अफगान टोलीले तालिबानको झन्डाका साथ खेलेमा आईसीसीले अनुमति दिने सम्भावना कम छ । प्रोटोकलका अनुसार कुनै पनि टोलीले आफ्नो झन्डाको बारे आईसीसीलाई जानकारी दिनुपर्ने हुन्छ ।

अफगान टोलीले तालिबानले बनाएको झन्डा पठाए आईसीसीले स्वीकार गर्ने सम्भावना न्यून छ । यूकेको टेलीग्राफका अनुसार आईसीसीले अफगानिस्तानलाई टेष्ट मान्यताबाट नै हटाउने सम्भावना पनि छ ।

आसन्न विश्वकपमा अफगानिस्तान टिमलाई ग्रप ‘बी’ मा राखिएको छ । उसले पहिलो म्याच २५ अक्टोबरमा खेल्ने तालिका छ ।

Loading...