पहिलो खेलमै टिम विजयी भएपछि यस्तो भन्छन् सन्दीप

काठमाडौं– चौथो सिजनको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स-११ ले विजयी सुरुवात गरेको छ ।

आज साविक विजेता ललितपुर प्याट्रियट्सलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

काठमाडौंको जितमा रियान बर्ललले अविजित ७३ र रहमानुल्लाह गुर्बाजले ५९ रनको महत्वपूर्ण पारी खेले ।

राजु रिजाल १९ रनमा अविजित रहँदा अमित श्रेष्ठ सुवास खकुरेलले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा पवन सराफले एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनायो ।

उसका लागि पवन सरार्फले सर्वाधिक ६१ रन बनाए । बलिङमा जितेन्द्र मुखियाले ४, गुल्सन झा र रायन बर्लले दुई/दुई विकेट हात पारे ।

आज सन्दीप लामिछाने र कुशल भुर्तेलका लागि कप्तानको रूपमा डेब्यू म्याच हो । यसअघि यी दुई खेलाडीले ईपीएलमा कप्तानी गरेका थिएनन् ।

जितपछि के भन्छन् सन्दीप?

पहिलो खेलमै शानदार जित हासिल गरेपछि काठमाडौं किंग्स-११ का कप्तान सन्दीप लामिछानेले प्रतिक्रिया दिएका छन् । उनले जिम्बाब्वेका रियाल बर्ल र अफगानिस्तानका युवा ब्याट्सम्यान रहमानुल्लाह गुर्बाजलाई जितको श्रेय दिए ।

‘गुर्बाजले टिमका लागि उत्कृष्ट सुरुवात दिलाए । उनको ब्याटिङ प्रशसनीय थियो । रयानलाई राजुले अन्तिममा राम्रो साथ दिए । बर्लले आक्रामक पारी खेले,’ सन्दीपले म्याच सकिएपछि भने ।

सन्दीपले आजको पीच स्पिनरका लागि अनुकूल नरहेको पनि बताए । ‘आजको पीच स्पिनरका लागि अनुकूल भएन । पानी पनि परेको थियो। त्यसले केही ब्याट्सम्यानलाई फाइदा भयो । बल ब्याटसम्म गइरहेको थियो आज स्पिनरको दिन थिएन,’ उनले भने ।

Loading...