उमेश यादवलाई आफ्नै साथीले ४४ लाख ठगेपछि…

काठमाडौं ।

भारतीय टिमका तीव्र गतिका बलर उमेश यादवसँग ४४ लाख भारु ठगी गरेको मुद्दा सार्वजनिक भएको छ । उनलाई नागपुरमा जग्गा दिने नाममा पूर्वम्यानेजर र आफ्नै साथीले ४४ लाख ठगी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पीटीआई रिपोर्टका अनुसार उमेशको उजुरी पछि पुलिसले शैलेश ठाकरेविरुद्ध ठगीको मुद्दा दर्ता गरेको छ ।

शैलेश कोराडी निवासी हुन् । उनी उमेशका साथी थिए । भारतीय टोलीमा छनोट भएपछि उमेशले आफ्ना बेरोजगार साथी शैलेशलाई १५ जुलाईमा २०१५ मा प्रबन्धकमा नियुक्त गरेको प्रहरी अधिकारीले एफआईआरलाई उद्धृत गर्दै जानकारी दिए । ठाकरेले समयसँगै उमेशको विश्वास जितेका थिए । उनले उमेशको बैंक खाता र आयकरलगायतका पैसा सम्बन्धी काम हेर्न थाले ।

उमेश नागपुरमा जग्गा किन्न चाहेका थिए । सोही योजनाअनुसार उनले शैलेशलाई पैसा दिएका थिए । ठाकरेले उमेशका लागि भन्दै ४४ लाखमा जग्गा पनि किनेको बताएका थिए । सोहीअनुसार उनले ठाकरेको खातामा पैसा पनि जम्मा गरे । तर, ठाकरेले त्यो जग्गा आफ्नो नाममा किनेको पाइएको छ ।

यो ठगीको बारेमा उमेशलाई थाहा भएपछि उनले ठाकरेलाई पैसा फिर्ता गर्न भनेका थिए । जवाफमा उनले त्यसो गर्न अस्वीकार गरे । उमेश पछिल्लो समय भारतीय टिम बाहिर छन् । उनले अन्तिमपटक भारतका लागि २५ डिसेम्बर २०२२ मा खेलेका थिए । हालसम्म उमेशले ५४ टेस्ट, ७५ एकदिवसीय र ९ टी–२० म्याच खेलेका छन् । जसमा उनले कुल २८२ अन्तर्राष्ट्रिय विकेट लिएका छन् ।

Leave A Reply

Your email address will not be published.