टी–२० विश्वकपमा भारतविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित

काठमाडौं ।

दक्षिण अफ्रिकामा जारी यू–१९ महिला टी-२० विश्वकपमा अस्ट्रेलियाले लगातार चौथो जित निकालेको छ । चौथो जित निकाल्ने क्रममा अस्ट्रेलियाले शनिबार भारतलाई ७ विकेटले हरायो । यसअघि अस्ट्रेलियाले पहिलो खेलमा बंगलादेशलाई पनि ७ विकेटले हराएको थियो ।

उसले दोस्रो खेलमा अमेरिकालाई ९ विकेट तथा तेस्रो खेलमा श्रीलंकालाई १०८ रनले हराएको थियो । चौथो खेलमा भारतले दिएको ८८ रनको लक्ष्य अस्ट्रेलियाले १३.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि एमी स्मिथ र क्लेयर मूरले अविजित क्रमशः २६ र २५ रनको पारी खेले । त्यस्तै, केट पेलले १७ र सियाना जिन्जरले ११ रन जोडे ।

भारतका लागि तितस साधु, अर्चना देवी र सनम यादवले एक/एक विकेट लिए । त्यसअघि पोचेफस्ट्रूमस्थित नर्थ–वेस्ट युनिभर्सिटी नम्बर १ ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले १८.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनायो । उसका लागि श्वेता सेहरावतले २१, हर्तिसा बासु र तितस साधुले १४/१४ रन बनाए ।

भारतलाई सस्तैमा समेट्ने क्रममा अस्ट्रेलियाका सियाना जिन्जरले ४ ओभरमा १३ रन दिएर सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै, म्यागी क्लार्क र मिलि इलिंगवर्थले दुई/दुई विकेट हात पारे । समूह ‘ए’ मा रहेको अस्ट्रेलिया शीर्ष स्थानमा रहेको छ । भारत अंक तालिकाको दोस्रो नम्बरमा छ ।

Leave A Reply

Your email address will not be published.