विश्वकपअघि पाकिस्तानलाई झड्का, प्रमुख खेलाडी टिमबाट बाहिरिए

काठमाडौं ।

अर्को महिना हुन लागेको महिला टी-२० विश्वकपअघि पाकिस्तानको टोलीलाई ठूलो झट्का लागेको छ । टोलीकी प्रमुख फास्ट बलर डायना बेग बाहिरिएकी छिन् । पाकिस्तान क्रिकेट बोर्डले डायनाकाे दायाँ हातको औंलामा चोट लागेको कारण उनी आगामी आईसीसी प्रतियोगितामा खेल्न नसक्ने पुष्टि गरेको छ ।

बेग लामो समयदेखि चोटसँग लड्दै आएकी छिन् । उनी भर्खरै काँधको चोटबाट निको भएकी थिइन् । तर शनिबार अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेलमा हातमा चोट लागेपछि उनी फेरि घाइते भएकी छन् । बेगलाई चार साता आराम गर्न सल्लाह दिइएको छ ।

उनको स्थानमा अस्ट्रेलियाको टी-२० सिरिज र विश्वकपका लागि रिजर्भमा रहेका सदफ शमासलाई टाेलीमा समावेश गरिएकाे छ । उनले अष्ट्रेलियाविरुद्धको एकदिवसीय शृंखलाको अन्तिम खेल खेलेकी थिइन र साे खेलमा ३० रन बनाएकी थिइन् । पाकिस्तानले विश्वकपमा समूह-२ मा स्थान पाएको छ र उसले पहिलो खेल १३ फेब्रुअरीमा कट्टर प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ ।

पीसीबीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अष्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेलमा अष्ट्रेलियाको इनिङ्सको सातौं ओभरको अन्तिम बलमा रिटर्न क्याच लिने प्रयास गर्दा डायना घाइते भएकी थिइन् । डायनालाई स्थानीय अस्पतालमा लगियो जहाँ एक्स-रेले फ्र्याक्चर भएको पुष्टि गर्यो । बेग उनको टोलीका प्रमुख बलर हुन् र पाकिस्तानले पक्कै पनि उनलाई विश्वकपमा मिस गर्नेछ ।’

टी-२० विश्वकपका लागि पाकिस्तानी टोली: बिस्मा मारुफ (कप्तान), आइमान अन्वर, आलिया रियाज, आयशा नसीम, ​​सदफ शमास, फातिमा साना, जावेरिया खान, मुनीबा अली (विकेटकीपरं), नसरा सन्धु, निदा दार, ओमामा सोहेल, सादिया इकबाल, सिद्रा अमीन, सिद्रा नवाज (विकेटकिपर) र तुबा हसन ।

रिजर्व खेलाडी: गुलाम फातिमा र कैनात इम्तियाज ।

Leave A Reply

Your email address will not be published.