जोन्टी रोड्स नेतृत्वको दक्षिण अफ्रिका १० विकेटले विजयी

काठमाडौं- भारतमा जारी रोड सेफ्टी वर्ल्ड टी-२० सिरिजअन्तर्गत बंगलादेशविरुद्ध दक्षिण अफ्रिका लेजेन्ड्स १० विकेटले विजयी भएको छ ।

गएराति भएको खेलमा बंगलादेशले दिएको १ सय ६१ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९.२ ओभरमा बिनाविकेट पूरा गर्‍यो ।

उसका लागि एन्ड्रयू पुटिक र मोर्नेभ्यान विकले उत्कृष्ट ब्याटिङ गरे । पुटिकले ५४ बलमा एक छक्का र ९ चौकासहित ८२ र विकले ६२ बलमा ९ चौकासहित अविजित ६९ रन बनाए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको बंगलादेश लेजेन्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६० रन बनायो ।

उसका लागि अफ्ताब अहमदले ३९, हनन सरकारले ३६, नजिमउद्दिनले ३२ र खालिद मसुदले १९ रन बनाए । बलिङमा माखाया एन्टिनी र ठन्डी शम्बालाले सर्वाधिक दुई/दुई विकेट लिए ।

जारी प्रतियोगितामा दक्षिण अफ्रिकाले ६ म्याच खेल्दा चारमा जित र दुई खेलमा हारको सामना गरेको । बंगलादेशले भने ५ म्याच खेल्दा सबैमा हार ब्यहोरेको छ ।

Loading...