लिन र हेटमायरको आक्रामक ब्याटिङ, टिमलाई दिलाए शानदार जित

काठमाडौं ।

यूएईमा जारी इन्टरनेसनल लिग टी-२० मा गल्फ जायन्ट्सले लगातार चौथो जित निकालेको छ । चौथो जित निकाल्ने क्रममा जायन्ट्सले आइतबार डेजर्ट भाइपर्सलाई ५ विकेटले हरायो । डेजर्टले दिएको १ सय ९६ रनको लक्ष्य जायन्ट्सले १९.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

उसका लागि क्रिस लिन र शिमरोन हेटमायरले आक्रामक पारी खेले । ४२ बलको सामना गरेका लिनले आठ चौका र तीन छक्कासहित ७१ रन बनाए । त्यस्तै, हेटमायरले ३५ बलमा पाँच छक्का र पाँच चौकाको सहयोगमा ७० रन बनाए । डेविड भिसेले २२ र लियाम दसनले अविजित १६ रन जोडे । कप्तान जेम्स भिन्स चार, टम ब्यान्टन तीन र रेहान अहमद एक रनमा आउट भए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको डेजर्टले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनायो । उसका लागि हेल्सले उत्कृष्ट पारी खेले । उनले ५७ बलमा १० चौका र पाँच छक्काको मद्दतमा ९९ रन बनाए । एक रनले उनी लगातार दोस्रो शतक बनाउन चुके । हेल्सले अघिल्लो खेलमा आबुधाबी नाइट राइडर्सविरुद्ध ५९ बलमा सात चौका र ६ छक्कासहित ११० रन बनाएका थिए ।

कप्तान कोलिन मुनरोले ३९, शेरफन रदरफोर्डले अविजित २७ र रोहन मुस्तफाले २३ रनको योगदान दिए । गल्फका लागि क्रिस जोर्डन, डेविड भिसे, लियाम दसन र रिचर्ड ग्लेसनले एक/एक विकेट लिए । आजको जितसँगै जायन्ट्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । डेजर्ट दोस्रो स्थानमा छ । उसले चारमध्ये तीनमा जित र एक खेलमा हार बेहोरेको छ ।

Leave A Reply

Your email address will not be published.