पोलार्डले ३८ बलमा बनाए ८६ रन, यद्यपि मुम्बई भने पराजित

काठमाडौं ।

यूएईमा जारी इन्टरनेसनल लिग टी–२० मा दुबई क्यापिटल्सविरुद्ध मुम्बई इण्डियन्स (एमआई) इमिरेट्स १६ रनले पराजित भएको छ । गएराति सम्पन्न खेलमा दुबईले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको मुम्बईले ५ विकेट गुमाएर २ सय ६ रन बनायो । उसका लागि कप्तान किरोन पोलार्डले आक्रामक ब्याटिङ गरे पनि टिमलाई जित दिलाउन भने सकेनन् ।

३८ बलको सामना गरेका उनले आठ चौका र ६ छक्कासहित ८६ रन बनाए । त्यस्तै, आन्द्रे फ्लेचरले अविजित ३५, नजिबुल्लाह जद्रानले ३०, समित पटेलले अविजित १८, विल समीदले १३ र मोहम्मद वसिमले १० रन जोडे । दुबईका लागि हजरत लुक्मानले सर्वाधिक दुई विकेट लिए । त्यसअघि आबुधाबीस्थित जायेद क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दुबई क्यापिटल्सले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय २२ रन बनायो ।

उसका लागि कप्तान रोभम्यान पावेल र जो रूटले शानदार पारी खेले । ४१ बलको सामना गरेका पावेलले १० छक्का र चार चौकाको मद्दतमा ९७ रन बनाए । त्यस्तै, रूटले ५४ बलमा आठ चौका र तीन छक्काको सहयोगमा ८२ रनको पारी खेले । रोबिन उथप्पा २६ रनमा आउट भए ।

युसुफ पठान एक रनमा अविजित रहे । मुम्बईका लागि जाहूर खान, फजलहक फारूकी र किरोन पोलार्डले एक/एक विकेट लिए । जारी सिजनमा दुबई क्यापिटल्सको यो दोस्रो जित हो । ऊ ४ अंकका साथ तालिकाको चौथो स्थानमा छ । तेस्रो स्थानमा रहेको मुम्बईले चार म्याच खेल्दा तीनमा जित र एक खेलमा हारको सामना गरेको छ ।

Leave A Reply

Your email address will not be published.