भारतविरुद्ध कन्वेले खेले करियरकै उत्कृष्ट पारी, गरे चौका/छक्काको वर्षा

काठमाडौं ।

भारतविरुद्धको एकदिवसीय श्रृंखलाको तेस्रो तथा अन्तिम खेलमा न्यूजिल्याण्ड टिमका ओपनिङ ब्याटर डेभन कन्वेले आक्रामक पारी खेलेका छन् । १ सय बलको सामना गरेका उनले १२ चौका र आठ छक्कासहित १ सय ३८ रनको पारी खेलेका हुन् । एकदिवसीयमा कन्वेको यो करियरकै उच्च स्कोर हो ।

यसअघि यो प्रारूपमा उनको उच्च स्कोर १२६ रन थियो । कन्वे भारतविरुद्ध वानडेमा उच्च स्कोर बनाउने तेस्रो किवी क्रिकेटर हुन् । भारतविरुद्ध एकदिवसीयमा उच्च स्कोर बनाउने किवी क्रिकेटरको शीर्ष स्थानमा भने टम लाथमको नाम आउँछ । उनले गत वर्ष घरेलु मैदानमा भारतविरुद्ध अविजित १४५ रनको पारी खेलेका थिए ।

इन्दौरस्थित होल्कर क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८५ रन बनायो । उसका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले शानदार शतक बनाए । ८५ बलको सामना गरेका रोहितले ९ चौका र ६ छक्काको मद्दतमा १ सय १ रन बनाए । अन्तर्राष्ट्रिय एकदिवसीय करियरमा उनको यो ३० औँ शतक हो ।

यो शतकसँगै रोहितले अन्तरोष्ट्रिय वानडेमा सर्वाधिक शतक बनाउने मामलामा अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङको रेकर्ड बराबरी गरेका छन् । पोन्टिङले पनि अस्ट्रेलियाका लागि ३० वानडे शतक बनाएका थिए । त्यस्तै, गिलले ७८ बलमा १३ चौका र पाँच छक्काको सहयोगमा १ सय १२ रन बनाए ।

हार्दिक पाण्ड्याले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ५४ रन बनाए । त्यस्तै, विराट कोहलीले ३६, शार्दुल ठाकुरले २५, इशान किशनले १७ र सूर्यकुमार यादवले १४ रनको योगदान दिए । न्यूजिल्याण्डका लागि याकूब डफी, ब्लेयर टिकनरले सर्वाधिक तीनतीन र माइकल ब्रेसवेलले एक विकेट आफ्नो नाममा गरे । तीन खेलको वानडे सिरिज भारतले खेल अगावै जितिसकेको छ । भारत आजको खेलमा पनि जित निकाल्दै सिरिज ‘क्लिन स्विप’ गर्न चाहन्छ ।

Leave A Reply

Your email address will not be published.