न्यूजिल्याण्डमाथि भारतको शानदार जित, गिल र रोहितले बनाए कीर्तिमान

काठमाडौं ।

न्यूजिल्याण्डविरुद्धको एकदिवसीय श्रृंखला भारतले क्लिन स्विप गरेको छ । मंगलबार सम्पन्न तेस्रो खेलमा ९० रनको जित निकालेसँगै भारतले तीन म्याचको सिरिज ३–० ले क्लिन स्विप गरेको हो । भारतले न्यूजिल्याण्डविरुद्धको सिरिज १३ वर्षपछि क्लिन स्विप गरेको हो । यसअघि उसले सन् २०१० मा न्यूजिल्याण्डसँगको पाँच खेलको सिरिज क्लिन स्विप गरेको हो ।

त्यसअघि भारतले सन् १९८८ मा न्यूजिल्याण्डसँगको वानडे सिरिज ४–० ले क्लिन स्विप गरेको थियो । न्यूजिल्याण्डले भने वानडे सिरिजमा खराब खेल्यो । तेस्रो खेलमा भारतले दिएको ३ सय ८६ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले ४१.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९५ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनिङ ब्याटर डेभन कन्वेले आक्रामक पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।

१ सय बलको सामना गरेका उनले १२ चौका र आठ छक्कासहित १ सय ३८ रनको पारी खेले । एकदिवसीयमा कन्वेको यो करियरकै उच्च स्कोर हो । यसअघि यो प्रारूपमा उनको उच्च स्कोर १२६ रन थियो । कन्वे भारतविरुद्ध वानडेमा उच्च स्कोर बनाउने तेस्रो किवी क्रिकेटर हुन् । भारतविरुद्ध एकदिवसीयमा उच्च स्कोर बनाउने किवी क्रिकेटरको शीर्ष स्थानमा भने टम लाथमको नाम आउँछ ।

उनले गत वर्ष घरेलु मैदानमा भारतविरुद्ध अविजित १४५ रनको पारी खेलेका थिए । त्यस्तै, हेनरी निकोल्सले ४२, माइकल ब्रेसवेलले २६, डारियल मिचेलले २४ र मिचेल सान्टनरले ३४ न जोडे । भारतका लागि कुलदीप यादव, शार्दुल ठाकुरले तीन/तीन, युजवेन्द्र चहलले दुई, उमरान मलिक र हार्दिक पाण्ड्याले एक/एक विकेट लिए ।

त्यसअघि इन्दौरस्थित होल्कर क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८५ रन बनायो । उसका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले शानदार शतक बनाए । ८५ बलको सामना गरेका रोहितले ९ चौका र ६ छक्काको मद्दतमा १ सय १ रन बनाए । अन्तर्राष्ट्रिय एकदिवसीय करियरमा उनको यो ३० औँ शतक हो ।

यो शतकसँगै रोहितले अन्तरोष्ट्रिय वानडेमा सर्वाधिक शतक बनाउने मामलामा अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङको रेकर्ड बराबरी गरेका छन् । पोन्टिङले पनि अस्ट्रेलियाका लागि ३० वानडे शतक बनाएका थिए । त्यस्तै, गिलले ७८ बलमा १३ चौका र पाँच छक्काको सहयोगमा १ सय १२ रन बनाए ।

हार्दिक पाण्ड्याले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ५४ रन बनाए । त्यस्तै, विराट कोहलीले ३६, शार्दुल ठाकुरले २५, इशान किशनले १७ र सूर्यकुमार यादवले १४ रनको योगदान दिए । न्यूजिल्याण्डका लागि याकूब डफी, ब्लेयर टिकनरले सर्वाधिक तीन/तीन र माइकल ब्रेसवेलले एक विकेट लिए ।

Leave A Reply

Your email address will not be published.