यूएईका पूर्वकप्तानसहित २ क्रिकेटरलाई ८ वर्षको प्रतिबन्ध

काठमाडौंः संयुक्त अरब इमिरेट्स (यूएई) का पूर्वकप्तान मोहमद नावीद र शैमान अन्वरलाई सबै खाले क्रिकेटबाट ८ वर्षको प्रतिबन्ध लगाइएको छ।

म्याच फिक्सिङ प्रकारणमा मुछिएका उनीहरुलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

उनीहरुलाई आइसिसीको ‘एन्टी करप्सन कोड’ तोडेको भन्दै प्रतिबन्ध लगाइएको हो। यसअघि म्याच फिक्सिङ गरेको विषयमा अनुसन्धान गर्नका लागि दुवै जनालाई निलम्बन गरिएको थियो।

त्यसैले उनीहरुको प्रतिबन्ध अक्टोबर १६, २०१९ देखि लागू हुनेछ। सन् २०१९ मा यूएईमा भएको टी-२० विश्वकप छनोटका दौरान नावीद र अन्वरले म्याच फिक्सिङ गर्न खोजेको आइसीसीले ठहर गरेको छ।

३३ वर्षीय अलराउन्डर नावीदले यूएईका लागि ३९ एकदिवसीय र ३१ टी-२० खेलेका छन्। ओपनिपङ ब्याट्सम्यान अन्वरले ४० एकदिवसीय र २० टी-२० खेलेका छन्।

Loading...