भारतको लज्जास्पद हार, बटलर चम्किँदा इंग्ल्याण्डको शानदार जित

काठमाडौं- भारतसँगको टी-२० सिरिजको तेस्रो खेलमा इंग्ल्याण्ड ८ विकेटले विजयी भएको छ । भारतले दिएको १ सय ५७ रनको लक्ष्य इंग्ल्याण्डले १८.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि जोश बटलरले करियरकै उत्कृष्ट इनिङ्स खेले ।

उनले ५२ बलमा पाँच चौका र चार छक्कासहित अविजित ८३ रन बनाए । यसअघि अन्तर्राष्ट्रिय टी–२० मा बटलरको उच्च स्कोर अविजित ७७ रन थियो ।

तेस्रो टी-२० मा जोनि बेयरिस्टाले नटआउट ४०, डेविड मलानले १८ र जेसन रोयले ९ रन बनाए । बलिङमा वासिङ्टन सुन्दर र युजवेन्द्र चहलले एक/एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनायो ।

उसका लागि आज पनि कप्तान विराट कोहलीले उत्कृष्ट पारी खेले । उनले ४६ बलमा ८ चौका र ४ छक्कासहित ७७ रन बनाए ।

अघिल्लो खेलमा विराटले अविजित ७३ रनको योगदान दिएका थिए ।

त्यस्तै, आज ऋषभ पन्तले २५, हार्दिक पाण्ड्याले १९, रोहित शर्माले १५, श्रेयस अय्यरले ९, इशान किशनले चार रन बनाउँदा केएल राहुल भने शून्यमै आउट भए ।

बलिङमा मार्क उडले तीन र क्रिस जोर्डनले दुई विकेट लिए । आजको जितसँगै पाँच खेलको सिरिजमा इंग्ल्याण्डले २-१ को अग्रता बनाएको छ । यी दुई टिमबीचको चौथो टी-२० बिहीबार हुनेछ ।

Loading...