इंग्ल्याण्डविरुद्ध यी ४ कारणले भारत पराजित

काठमाडौं- इंग्ल्याण्डसँगको टी-२० सिरिजको दोस्रो खेलमा राम्रो ‘कमब्याक’ गरेको भारत तेस्रो खेलमा भने फेरि ८ विकेटले पराजित हुन पुगेको छ ।

तेस्रो म्याचमा पनि भारत पहिलो खेलकै प्रदर्शनलाई दोहोर्‍याउन पुग्यो ।

तेस्रो टी-२० मा भारतले रणनीति केही परिवर्तन गरेको थियो । उसले रोहित शर्मा र केएल राहुललाई ओपनिङमा पठाएको थियो । यसका बाबजुद पनि भारत पराजित हुन पुग्यो ।

भारत हार्नुका चार कारण

१. बटलरको आक्रामक ब्याटिङ : दोस्रो खेलमा शून्यमै आउट भएका जो बटलरले तेस्रो टी-२० मा भने आक्रामक ब्याटिङ गरे । उनले खेल अवधिभर बलरमाथि दबाब कायमै राखे ।

बटलरले तेस्रो म्याचमा ५२ बलमा चार छक्का र पाँच चौकासहित अविजित ८३ रन बनाए । अन्तर्राष्ट्रिय टी-२० मा उनको यो उच्च स्कोर हो । तेस्रो खेलमा बटलर चम्किँदा पनि भारतले फराकिलो हार ब्यहोर्न बाध्य भयो ।

२. मार्क उडको घातक बलिङ : दोस्रो खेलमा विश्राम पाएका तीव्र गतिका बलर मार्क उडले तेस्रो टी-२० मा भने प्लेइङ ११ मा स्थान पाए । र, फेरि एक पटक उनले आफूलाई प्रमाणित गरे ।

भारतीय टिमको माथिल्लो क्रमलाई ध्वस्त बनाउन उडले महत्वपूर्ण योगदान दिए । उनले केएल राहुल शून्य, रोहित शर्मा १५ र श्रेयस अय्यरलाई ९ रनमै आउट गराए ।

उडले तेस्रो टी-२० मा ३१ रन दिएर महत्वपूर्ण तीन विकेट लिए । उनको उत्कृष्ट बलिङका कारण पनि भारत म्याच हार्नु बाध्य भयो ।

३. ओपनिङ ब्याट्सम्यान फ्लप र सुस्त सुरुवात : भारतले तेस्रो म्याचमा पनि खराब सुरुवात गर्यो । माथिल्लो क्रममा ब्याट्सम्यान केएल राहुल (०), रोहित शर्मा (१५) र इशान किशन ४ रनमै आउट भए ।

लगातार विकेट पतनपछि भारतको रन गति पनि बढ्न सकेन । भारतले ६ ओभरमा महत्वपूर्ण तीन विकेट गुमाएर २४ रन मात्र बनाएको थियो । इंग्ल्याण्डले भने पावरप्लेको ६ ओभरमा एक विकेट गुमाएर ५७ रन जोडेको थियो ।

खराब सुरुवात र सुस्त रन गतिका कारणले पनि भारत तेस्रो खेलमा ७ विकेटले पराजित भयो ।

४. टस हार्नु : टस हार्नु पनि भारत पराजित हुनुको कारण बन्न पुग्यो । जारी सिरिजमा तीन खेल सकिँदा टस जित्ने टिमले नै म्याच जितेको छ ।

पहिलो खेलमा भारतले टस हारेको थियो इंग्ल्याण्डले खेल जित्यो । दोस्रो म्याचमा इंग्ल्याण्डले टस हार्‍यो भारतले खेल जित्यो ।

तेस्रो खेलमा भारतले टस हार्‍यो इंग्ल्याण्डले खेल जित्यो । पाँच खेलको सिरिजमा इंग्ल्याण्डले २-१ ले अग्रता बनाएको छ । यी दुई टोलीबीचको चौथो म्याच बिहीबार हुनेछ ।

Loading...