पन्तले बताए दिल्ली फाइनलमा नपुग्नुको कारण

काठमाडौंः इन्डियन प्रिमियर लिगको १४औं सिजनमा दिल्ली क्यापिटल्सले उत्कृष्ट खेल देखाएर प्लेअफमा स्थान बनायो।

अंक तालिकाको शीर्ष स्थानमा रहेको टोली पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग पराजित भयो। दोस्रो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग हारको सामना गर्दै दिल्ली प्रतियोगिताबाट बाहिरियो।

दिल्ली प्रतियोगिताबाट बाहिरिएपछि कप्तान ऋषभ पन्तले प्रतिक्रिया दिएका छन्। खेलपछि कप्तान पन्त निकै भावुक देखिएका थिए। उनले प्रतिक्रिया दिन आफूसँग कुनै शब्द नै नभएको बताएका छन्।

‘म के भन्न सक्छु मसँग केही भन्नका लागि कुनै शब्द छैन। यस समयमा म केही भन्न सक्दिन। हामी आफैंमा धेरै विश्वास थियो। सकेसम्म लामो समय लिए। यस म्याचमा रहनका लागि लगातार प्रयास गरेका थियौं,’ पन्तले भने, ‘बलरहरु यो म्याच धेरै नजिक बनाए। हामीलाई धेरै नजिक ल्यायो तर दुर्भाग्यवश म्याच हाम्रो पक्षमा गएन। कोलकाता बलरहरुले मध्य ओभरमा राम्रो बलिङ गरे। हामीले त्यतिबेला स्ट्राइक रोटेट गर्न सकेनौं।’

कोलकाता टिमले १ विकेट गुमाएर १२३ रन बनाएको बेला दिल्लीले खेलमा पुनरागमन गरेको थियो। एकपछि अर्को विकेट लिएर खेललाई अन्तिम ओभरमा पुर्‍यायो।

कोलकातालाई अन्तिम ६ बलमा ७ रन चाहिएको थियो। अश्विनले पहिलो चार बलमा मात्र १ रन दिएर एक विकेट पनि लिए। जब २ बलमा ६ रन आवश्यक थियो।

राहुल त्रिपाठीले एक छक्का प्रहार गरी केकेआरलाई फाइनलमा पुगाए। यससँगै दिल्लीको फाइनलको आशा पनि समाप्त भयो।

‘दिल्ली क्यापिटल्सको टिममा सधैं सकारात्मक सोच र आशा छ। हाम्रो टिम अर्को सिजनमा बलियो भएर फर्कनेछ। हामीले धेरै राम्रो क्रिकेट खेलेका छौं,’ पन्तले भने, ‘हो यो सत्य हो कि उतार चढाव आउँछ तर हामी एकअर्काको धेरै नजिक छौं। एकअर्काको ख्याल राख्छन्। आशा छ हामी अर्को सिजन मजबुद भएर फर्किनेछौं, यो अझ राम्रो हुनेछ।’

दिल्ली गत सिजन आईपीएलको फाइनलमा पुगेको थियो। फाइनलमा मुम्बईसँग पराजित हुँदै उपाधि जित्न असफल भएको थियो।

Loading...