इंग्ल्याण्डलाई हराउँदै वेष्ट इण्डिज सेमिफाइनलमा, आज भारतसँग हुनेछ कडा टक्कर

काठमाडौं- भारतमा जारी रोड सेफ्टी टी-२० वर्ल्ड सिरिजअन्तर्गत इंग्ल्याण्ड लेजेन्ड्सविरुद्ध वेष्ट इण्डिज लेजेन्ड्स ५ विकेटले विजयी भएको छ ।

गएराति छत्तिसगढको रायपुरमा भएको खेलमा इंग्ल्याण्डले दिएको १ सय ८७ रनको विशाल लक्ष्य वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

उसका लागि ड्वेन स्मिथले ५८, नरसिंह देवनरायणले अविजित ५३, कर्क एड्र्वासले ३४ र रिड्ले जेकब्सले १३ रन बनाए ।

बलिङमा क्रिस ट्रेमलेट र जेम्स ट्रेडवेलले सर्वाधिक दुई/दुई विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १ सय ८६ रन बनायो ।

उसका लागि फिल मस्टर्डले ५७, ओविस साहले अविजित ५३, कप्तान केविन पीटरसनले ३८ र जिम ट्राटनले २२ रन बनाए ।

बलिङमा ड्वेन स्मिथले दुई र सुलिमान बेनले एक विकेट लिए ।

यो जितसँगै वेष्ट इण्डिज सेमिफाइनलमा प्रवेश गरेको छ । उसले सेमिफाइनल म्याच आज भारत लेजेन्ड्सको सामना गर्दैछ ।

भारत र वेष्ट इण्डिजबीचको म्याच नेपाली समयअनुसार साँझ ७ः१५ बजेदेखि सुरु हुनेछ ।

Loading...