केकेआरलाई हराउँदै सीएसकेले जित्यो आईपीएलको उपाधि

काठमाडौंः चेन्नई सुपर किंग्सले यूएईमा जारी १४औँ सिजनको आईपीएलको उपाधि जितेको छ। फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नईले उपाधि जितेको हो।

चेन्नईले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको केकेआरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाउन सक्यो।

उसका लागि ओपनरद्वय शुभमन गिल र वेन्कटेश अय्यरले अर्धशतकी पारी खेले। गिलले ४३ बलमा ७ चौकासहित ५१ रन बनाउँदा अय्यरले ३२ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५० रन जोडे।

यस्तै, शिवम मावीले २०, लकी फर्ग्युसनले अविजित १८, दिनेश कार्तिकले ९, कप्तान इयोन मोर्गनले ४, राहुल त्रिपाठी र सुनील नारायणले २–२ तथा नीतीश राणा र राहुल त्रिपाठी शून्य रनमा आउट भए।

बलिङमा शार्दुल ठाकुरले ३, जोश हेजलवुड र रवीन्द्र जडेजाले २–२ तथा ड्वेन ब्रावो र दीपक चाहरले १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो।

उसका लागि फाफ डुप्लेसिस र मोइन अलीले उत्कृष्ट ब्याटिङ गरे। डुप्लेसिसले ५९ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ८६ रन जोड्दा अलीले २० बलमा २ चौका र २ छक्कासहित नटआउट ३७ रन बनाए। यस्तै, रुतुराज गायकवाडले ३२ र रोबिन उथप्पाले ३१ रन बनाए।

बलिङमा सुनील नारायणले २ र शिवम मावीले १ विकेट लिए। यससँगै चेन्नईले चौथो पटक आईपीएलको उपाधि जितिसकेको छ। उपाधि जितेर चेन्नई सर्वाधिक आईपीएल जित्ने मुम्बई इन्डियन्सले बनाएको पाँच उपाधिको रेकर्डसँग नजिक पुगेको छ। यसअघि चेन्नईले सन् २०१०, २०११ र २०१८ मा उपाधि जितेको थियो।

धोनीले बनाए कीर्तिमान

चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले टी–२० क्रिकेटमा ठूलो कीर्तिमान बनाएका छन्। टी–२० क्रिकेटमा तीन सय म्याचमा कप्तानी गर्ने विश्वकै पहिलो कप्तान बनेका हुन्।

आईपीएल २०२१ को फाइनल खेलमा केकेआरविरुद्ध मैदान उत्रने बित्तिकै यो कीर्तिमान आफ्नो नाम गरे। अहिलेसम्म उनले आईपीएल, टी–२० अन्तर्राष्ट्रिय क्रिकेट, च्याम्पियन्स लिग टी–२० मा कप्तानी गरिसकेका छन्।

धोनी अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्ने बला पनि धोनी सबैभन्दा सफल कप्तान थिए। उनले सबै आईसीसी ट्रफी जिते। उनले आईपीएल र च्याम्पियन्स लिग टी–२० मा सीएसकेको कप्तानी गरेर टिमलाई सफल बनाएका छन्।

आईपीएलमा उनी सीएसके टिमका एक कप्तानको रूपमा धेरैभन्दा धेरै खेल जित्ने कप्तान हुन्। साथै यो लिगमा एक कप्तानको रूपमा धेरै खेल जित्ने कीर्तिमान पनि उनको नाममा छ।

उनले अन्तर्राष्ट्रिय टी–२० क्रिकेट करियरमा भारतका लागि ७२ खेलमा कप्तानी गरेका छन्। जसमध्ये उनले ४१ खेल जिते र २८ म्याच हारे। उनले सन् २०१७ मा टी–२० टोलीको कप्तानी छोडे। उनले सन् २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए।

उनले चेन्नईका लागि २१३ म्याचको कप्तानी गरिसकेका छन्। जसमध्ये उनले १३० खेल जितेका छन् भने ८१ म्याच हारेका छन्। आईपीएलमा धोनीले राइजिङ पुणे सुपरजाइन्ट्स टिमको पनि कप्तानी गरे।

कप्तानको रूपमा १४ खेल खेले। यसमध्ये पुणेले ५ म्याच जित्यो भने ९ मा हारेको थियो। धोनीको खराब प्रदर्शनका कारण पुणेले उनको ठाउँमा स्टिभ स्मिथलाई टिमको कप्तान बनाएको थियो।

टी–२० क्रिकेटमा कप्तानका रूपमा सबैभन्दा धेरै खेल खेल्ने ५ खेलाडी

३००– एमएस धोनी

२०८– ड्यारेन सैमी

१८५ – विराट कोहली

१७० – गौतम गम्भीर

१५३ – रोहित शर्मा

Loading...