बंगलादेशविरुद्ध खेल्दै स्कटल्याण्ड, यस्तो हुनसक्छ प्लेइङ–११

काठमाडौंः आईसीसी टी–२० विश्वकप २०२१ आजदेखि सुरु हुँदैछ। आज हुने दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्ड खेल्दै छन्।

यी दुई देशबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि ओमानको अल अमरेत रंगशालामा सुरु हुनेछ। दुवै टिम प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन्। अभ्यास खेलमा स्कटल्याण्डले नामिबिया र नेदरल्याण्ड्सलाई हराएको थियो।

बंगलादेश भने श्रीलंका र आयरल्याण्डसँग पराजित भएको थियो। बंगलादेशले केहीअघि अष्ट्रेलिया र न्यूजिल्याण्डविरुद्धको टी–२० जितेको थियो। बंगलादेशले कप्तान महमुदुल्लाह, मुश्फिकुर रहिम, सौम्या सरकार, लिटन दास र शाकिब अल हसनबाट राम्रो प्रदर्शनको अपेक्षा गरेको छ। अलराउन्डर मेहेदी हसन र मोहम्मद सैफुद्दीन छन्।

स्कटल्याण्डका जर्ज मुन्से आक्रामक ब्याटिङका लागि चिनिन्छन्। टी–२० आईमा ठूला ठूला सट हिर्काउनमा उनी माहिर छन्। कप्तान काइल कोएट्जरले पनि राम्रो ब्याटिङ गर्छन्। उनी बंगलादेशका लागि घातक बन्न सक्छन्।

टी–२० विश्वकपमा सहभागी १६ टिमले दुई चरणमा प्रतिस्पर्धा गर्नेछन्। जसमा आठ टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्दा आठ टिम सिधैं सुपर–१२ मा पुगेका छन्।

सुपर–१२ मा बाँकी चार टिम पहिलो चरणबाट छनोट हुनेछन्। पहिलो चरणमा दुई समूहमा प्रतिस्पर्धा हुनेछ। समूह विजेता र उपविजेता गरी चार टिम सुपर–१२ मा पुग्नेछन्। पहिलो चरणबाट चार टिम सुपर–१२ पुगेपछि २३ अक्टोबरबाट दोस्रो चरणको खेल हुनेछ।

बंगलादेशको सम्भावित–११

सौम्या सरकार, लिटन दास, शकिब अल हसन, मुश्फिकुर रहिम, महमुदुल्लाह (कप्तान), अफिफ हुसेन, नुरुल हसन (विकेटकिपर), मेहेदी हसन, मोहम्मद सैफुद्दीन, शोरिफुल इस्लाम र मुस्ताफिजुर रहमान।

स्कटल्याण्डको सम्भावित–११

जर्ज मुन्से, काइल कोएट्जर (कप्तान), ३ म्याथ्यू क्रस (विकेटकिपर), ४ रिची बेरिंगटन, क्यालम म्याक्लिओड, डिलन बज, माइकल लीस्क, मार्क वाट, सफ्यान शरीफ, जोश डेभी र अलास्डेयर इभान्स।

Loading...