टी–२० विश्वकप : आजदेखि लागू हुँदै यी नयाँ नियम

काठमाडौंः आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट आजदेखि सुरु हुँदैछ। कोरोना महामारीका कारण २०२० मा हुन नसकेको यो प्रतियोगिता यूएई र ओमानमा २९ दिन चल्नेछ।

प्रतियोगितामा १६ टिम सहभागी हुनेछन्। तर, पहिलो चरणमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन्। समूह ‘ए’ मा आयरल्याण्ड, नामिबिया, नेदरल्याण्ड्स र श्रीलंका छन् भने समूह ‘बी’ मा बंगलादेश, ओमान, पपुवा न्यूगिनी र स्कटल्याण्ड रहेका छन्।

दुबै समूहका टिमले एकअपासमा खेल्नेछन्। समूहको शीर्ष दुई टोली सुपर–१२ मा पुग्नेछन्। सुपर १२ मा पनि दुई समूह हुनेछ।

पहिलो समूहमा अष्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र वेष्ट इण्डिजका साथै समूह ‘ए’को शीर्ष र समूह ‘बी’ को दोस्रो टिम हुनेछ भने अर्को समूहमा भारत, पाकिस्तान, न्यूजिल्याण्ड र अफगानिस्तानका साथै समूह ‘ए’को दोस्रो र समूह ‘बी’को शीर्ष टिम थप हुनेछ।

यो राउण्डको खेल २३ अक्टोबरदेखि सुरु हुनेछ। हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। १० र ११ नोभेम्बरमा सेमिफाइनल खेल हुनेछ। १४ नोभेम्बरमा फाइनल म्याच हुनेछ।

टी–२० विश्वकपकमा नयाँ नियम

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० विश्वकपका लागि केही नयाँ नियम पनि बनाएको छ। टी–२० विश्वकप क्रिकेटमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) अर्थात् निर्णय समिक्षा प्रणाली प्रयोग लागू हुने भएको छ।

आईसीसीले पहिलो पटक डीआरएस लागू गर्न लागेको हो। आईसीसीका अनुसार प्रतियोगितामा प्रत्येक टोलीले प्रत्येक इनिङ्समा दुईवटा रिभ्यू पाउनेछ।

जसरी कप्तान डीआरएसले टेष्ट र एकदिवसीय म्याचमा फिल्ड अम्पायरले दिएको निर्णयलाई चुनौती दिन्छन्। त्यसै गरी नियम अब टी–२० विश्वकपमा पनि लागू हुनेछ। म्याच खेल्ने दुवै टिमका कप्तानलाई पारीको समयमा दुई पटक फिल्ड अम्पायरको निर्णयलाई चुनौती दिने अधिकार हुनेछ।

आईसीसीले फिल्ड अम्पायरले खेलाडीहरुलाई दिने गल्ती सच्याउन डीआरएसको नियम बनाएको थियो। यदि फिल्ड अम्पायरले टिमका खेलाडीहरुको अपिललाई अस्वीकार गर्दछन्। र, कप्तानलाई आउट भएको लाग्यो भने यस्तो स्थितिमा कप्तान उनले डीआरएसको माग गर्न सक्छन्।

जसपछि निर्णय टीभी अम्पायरको लागि जान्छ। रिप्ले हेरेपछि टीभी अम्पायरले खेलाडी आउट छ कि छैन भनेर निर्णय लिनेछन्। यदि ब्याट्सम्यानलाई अम्पायरले गलत आउट दियो भन्ने लागेमा उसले डीआरएसको माग पनि गर्न सक्छ।

आईसीसीले ढिलो हुने अथवा वर्षाले प्रभावित हुने खेलका लागि ओभरहरूको संख्या समेत बढाउने निर्णय गरेको छ। डीएल प्रणालीअनुसार खेलको नजिताका लागि समूह चरणमा प्रत्येक टोलीले कम्तिमा पाँच ओभर ब्याटिङ गर्नुपर्ने छ जुन टी–२० को लागि सामान्य हो। तर, सेमिफाइनल र फाइनलमा भने खेलको नजिताका लागि एउटा टिमले कम्तिमा १० ओभर ब्याटिङ गर्नुपर्नेछ।

सन् २०१८ मा डीआरएस लागू गरिएको थियो। यो पहिलो पटक सन् २०१८ मा भएको महिलाको टी–२० विश्वकपमा लागू गरिएको थियो। तर, पुरुष टी–२० विश्वकपमा भने पहिलो पटक लागू गरिन लागिएको हो।

यसका साथै यो पटक प्रत्येक खेलका क्रममा अतिरिक्त ‘ड्रिक्स ब्रेक’ हुनेछ। अढाई मिनेटको यो ब्रेक पारीको मध्यमा हुनेछ। यस पटकको उपाधि विजेता टिमले १६ लाख अमेरिक डलर पाउनेछ। उपविजेताले भने ८ लाखमा चित्त बुझाउनुपर्नेछ।

सेमिफाइनलमा पुग्ने हरेक टोलीले ४/४ लाख डलर पाउनेछन्। यस्तै, पहिलो चरणमा एक खेल जित्नेमा नगद ४० हजार अमेरिकी डलर पाउनेछन्। दोस्रो चरण अर्थात् सुपर १२ मा एक खेल जित्दा ४० हजार अमेरिकी डलर प्राप्त हुनेछ। सुपर १२ बाट बाहिरिने टिमले ७० हजार डलर पाउनेछन्।

Loading...