पीएनजीले ओमानलाई दियो सामान्य लक्ष्य, भालाले बनाए कीर्तिमान

काठमाडौंः आईसीसी टी–२० विश्वकपअन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनीले ओमानलाई १ सय ३० रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन बनायो।

उसका लागि कप्तान अस्सद भालाले अर्धशतकीय पारी खेले। उनले ४३ बलमा ४ चौका र ३ छक्कासहित ५६ रनको योगदान दिए। जारी टी–२० विश्वकपमा यो पहिलो अर्धशतक हो। पपुवा न्युगिनीबाट टी–२० विश्वकपमा अर्धशतक बनाउने उनी पहिलो खेलाडीसमेत हुन्। पीएनजीले पहिलो पटक विश्वकप खेलिरहेको हो।

यस्तै, चार्ल्स अमिनीले ३७ र सेसे बाउले १३ रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

बलिङमा कप्तान जीशान मकसूदले ४ तथा कलीमुल्लाह र बिलाल खानले २–२ विकेट लिए।

दुवै टिम जितसँगै प्रतियोगिताको सुरुवात गर्न चाहन्छन्। विश्वकप खेल्नुअघि पहिले दुबै टिमले केही अभ्यास खेल खेलेका छन्। ओमानले नामिबिया र नेदरल्याण्ड्सविरुद्ध दुई वटा अभ्यास खेल खेलेको थियो।

जसमा एक जितेको छ। उसले दोस्रो खेलमा हार बेहोर्नु परेको थियो। पपुवा न्युगिनीले दुवै अभ्यास खेलमा पराजय भोगेको थियो। यस्तो स्थितिमा पपुवा न्युगिनीको टिममा केही मानसिक दबाव हुनेछ। उसले आयरल्याण्ड र श्रीलंकाविरुद्ध अभ्यास खेल खेलेको थियो।

Loading...