बंगलादेशले पायो मध्यम लक्ष्य, शाकिबको कीर्तिमानी बलिङ

काठमाडौंः आईसीसी टी–२० विश्वकपअन्तर्गतको दोस्रो खेलमा स्कटल्याण्डले बंगलादेशलाई १ सय ४१ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनायो।

उसका लागि क्रिस ग्रीव्सले शानदार ब्याटिङ गरे। उनले २८ बलमा ४ चौका र २ छक्कासहित ४५ रन बनाए।

यस्तै, जर्ज मुन्सेले २९, मार्क वाटले २२ र म्याथ्यू क्रसले ११ रन बनाए। बाँकी ब्याट्सम्यान म्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

बलिङमा मेहेदी हसनले ३, शाकिब अल हसन र मुस्ताफिजुर रहमानले २–२ तथा मोहम्मद सैफुद्दीन र तस्कीन अहमदले १–१ विकेट दिए। स्कटल्याण्डविरुद्ध २ विकेट लिएसँग शाकिबले नयाँ कीर्तिमान बनाएका छन्। उनी टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा बढी विकेट लिने बलर बनेका छन्। उनले श्रीलंकाका पूर्व स्टार बलर लासिथ मलिङ्गाको कीर्तिमान भंग गरेका छन्। मलिङ्गाले ८४ टी–२० आईमा १ सय ७ विकेट लिएका थिए। शाकिबले ८९ खेलमा १ सय ८ विकेट लिइसकेका छन्।

दुवै टिम प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन्। अभ्यास खेलमा स्कटल्याण्डले नामिबिया र नेदरल्याण्ड्सलाई हराएको थियो। बंगलादेश भने श्रीलंका र आयरल्याण्डसँग पराजित भएको थियो। बंगलादेशले केहीअघि अष्ट्रेलिया र न्यूजिल्याण्डविरुद्धको टी–२० जितेको थियो।

टी–२० विश्वकपमा सहभागी १६ टिमले दुई चरणमा प्रतिस्पर्धा गर्नेछन्। जसमा आठ टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्दा आठ टिम सिधैं सुपर–१२ मा पुगेका छन्।

सुपर–१२ मा बाँकी चार टिम पहिलो चरणबाट छनोट हुनेछन्। पहिलो चरणमा दुई समूहमा प्रतिस्पर्धा हुनेछ। समूह विजेता र उपविजेता गरी चार टिम सुपर–१२ मा पुग्नेछन्। पहिलो चरणबाट चार टिम सुपर–१२ पुगेपछि २३ अक्टोबरबाट दोस्रो चरणको खेल हुनेछ।

Loading...