वेष्ट इण्डिजलाई हराउँदै भारत फाइनलमा, सेमिफाइनलमा चम्किँए यी खेलाडी

काठमाडौं- भारतमा जारी रोड सेफ्टी टी-२० वर्ल्ड सिरिजमा भारत लेजेन्ड्स फाइनलमा प्रवेश गरेको छ ।

गराराति भएको खेलमा वेष्ट इण्डिज लेजेन्ड्सलाई १२ रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।

छत्तिसगढको रायपुरमा जारी सिरिजमा भारतले दिएको २ सय १९ रनको लक्ष्इ पछ्याएको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनायो ।

उसका लागि ड्वेन स्मिथ, नरसिंह डेवनारायण र कप्तान ब्रायन लाराको उत्कृष्ट ब्याटिङ गरे ।

स्मिथले ३६ बलमा ९ चौका र दुई छक्कासहित ६३, देवनारायणले ४४ बलमा दुई छक्का र पाँच चौकाको मद्दतमा ५९ रनको योगदान दिए ।

लाराले पनि आक्रामक ब्याटिङ गरे । उनले २८ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४४ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा विनय कुमार, प्रज्ञान ओझा, इरफान पठान, मुनाफ पटेल र मनप्रीत गोनीले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १८ रन बनायो ।

उसका लागि कप्तान सचिन तेन्दुलकरले उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ४२ बलमा ६ चौका र तीन छक्कासहित ६५ रन बनाए ।

वेष्ट इण्डिजविरुद्ध युवराज सिंहले आक्रामक ब्याटिङ गरे । उनले २० बलमा ६ छक्का र एक चौकासहित अविजित ४९ रनको योगदान दिए ।

वीरेन्द्र सहवाग १७ बलमा पाँच छक्का र एक चौकासहित ३५ बलमा आउट भए । त्यस्तै, युसूफ पठानले २० बलमा तीन छक्का र २ चौकासहित नटआउट ३७ रन बनाए ।

मोहम्मद कैफले २१ बलमा दुई छक्का र दुई चौकासहित २७ रनको योगदान दिए । बलिङमा टिनो बिस्टले सर्वाधिक दुई विकेट लिए ।

Loading...