नयाँ वर्गीकरणमा को खेलाडी कुन ग्रेडमा? यस्तो छ सूची

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) को पुरुष तथा महिला क्रिकेट खेलाडीको नयाँ वर्गीकरण पारित गरेको छ । क्यानको बोर्ड बैठकले वर्गीकरण पारित गरेको हो ।

तत्कालिन उपाध्यक्ष राजु बाबु श्रेष्ठको संयोजकत्वमा गठित समितिले असोजमै वर्गीकरण निर्धारण गरिए पनि सार्वजनिक भने ढिला गरिएको हो । नयाँ वर्गीकरण अप्रिल २०२१ देखि डिसेम्बर २०२१ सम्मका लागि हुने भनिएको छ ।

बोर्ड बैठकबाट नयाँ वर्गीकरण पारित गरेपछि क्यानले खेलाडीलाई छुट्टाछुट्टै सन्देश पठाउँदै नयाँ सम्झौतामा हस्ताक्षर गर्न खबर पठाएको थियो । सम्झौतामा हस्ताक्षर गर्नुअघि नयाँ वर्गीकरण हेर्न पाउनुपर्ने कतिपय खेलाडीले माग राखेका थिए । तर, केही खेलाडीले सो सम्झौताप्रति असन्तुष्टि जनाएका छन् ।

सो वर्गीकरणप्रति अलराउन्डर सोमपाल कामीको पनि असन्तष्छ छन् । ‘कतिपय खेलाडीलाई वर्गीकरणमा राखिएको थिएन । कतिलाई हुनु पर्नेभन्दा तल्लो वरीयतामा राखिएको थियो,’ सोमपालले भने, ‘मेरो आफ्नै वरीयतामा पनि सन्तुष्ट हुन सकिन ।’

कप्तान ज्ञानेन्द्र मल्लले नयाँ वर्गीकरणमा त्रुटि भएको बताए । उनले पनि कतिपय खेलाडीको वर्गीकरण सही तरिकाले हुन नसकेको बताए । ‘वर्गीकरणमा कोहि खेलाडी पर्ने कोहि नपर्ने भएको देखिन्छ । यो चित्तबुझ्दो छैन,’ उनले भने । नेपाली टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरी पनि नयाँ वर्गीकरणमा सन्तुष्ट छैनन् ।

‘क्यानले सम्झौता गर्न बोलाएपछि हस्ताक्षर गरेर फर्के । जब अभ्यासमा गए सबै केटाहरूले वर्गीकरणमा असन्तुष्टि जनाए,’ दीपेन्द्रले भने, ‘रोहित सम्झौतामा छैन । उसलाई ल्याउन पर्छ। गुल्शन झाले पछिल्लो समय राम्रो खेलिरहेको छ। उसलाई पनि केही रकम दिनु पर्छ ।’

अप्रिल २०२१ देखि डिसेम्बर २०२१ सम्मको वर्गीकरण

‘ए’ वर्गीकरण : करण केसी, सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र पारस खड्का ।

‘बी’ वर्गीकरण : कुशल मल्ल, विनोद भण्डारी, सुशान भारी, अविनाश बोहरा, शरद भेषवाकर र सोमपाल कामी ।

‘सी’ वर्गीकरण : कुशल भुर्तेल, आरिफ शेख, कमल सिंह ऐरी, आशिफ शेख, सुन्दीप जोरा, पवन शर्राफ र शाहब आलम ।

महिला खेलाडीको वर्गीकरण

‘ए’ वर्गीकरण : सीता राना मगर, रुविना क्षेत्री, इन्दु बर्मा, करुणा भण्डारी र काजोल श्रेष्ठ ।

‘बी’ वर्गीकरण : नेरी थापा, सरिता मगर, कविता कुँवर, अञ्चली चन्द, रोमा थापा र सोनु खड्का ।

‘सी’ वर्गीकरण : ममता चौधरी, अप्सरी बेगम, विन्दु रावल, आरती बिडारी, डली भट्ट, सरस्वती चौधरी र सुमन खतिवडा ।

Loading...