पहिलोपटक टी-२० विश्वकप जितेपछि के भन्छन् कप्तान फिन्च?

काठमाडौं– यूएईमा सम्पन्न आईसीसी टी-२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । गएराति फाइनलमा न्यूजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले पहिलोपटक यो प्रारूपको विश्वकप उपाधि जितेको हो ।

पहिलोपटक टी-२० विश्वकप जितेपछि अष्ट्रेलियन कप्तान आरोन फिन्चले प्रतिक्रिया दिएका छन् । उनले टिमलाई उपाधि दिलाउनमा सम्पूर्ण खेलाडीको समर्पण रहेको प्रतिक्रिया दिएका हुन् ।

टिमको प्रदर्शनप्रति गर्व गर्दै फिन्चले भने, ‘यसपालि हाम्रो टिमको उत्कृष्ट प्रदर्शन रह्यो । योपटक हाम्रा केही खेलाडीले व्यक्तिगत रूपमा शानदार प्रदर्शन गरे । विश्वकपअघि डेविड वार्नरमाथि केही व्यक्तिले प्रश्न पनि उठाएका थिए । उनीहरूले अब वार्नरको प्रदर्शन सक्कियो भनेर पनि भने । तर, वार्नरले आलोचना गर्ने सबैलाई आफ्नो प्रदर्शनबाट जवाफ दिएका छन् ।

फिन्चले फाइनलमा मिचेल मार्श, डेविड वार्नर, एडम जम्पा, जोश हेउलउडले उत्कृष्ट प्रदर्शन गरेको भन्द्र प्रशंसा गरे ।

‘म्याथ्यू वेडले चोटका बाबजुद पनि खेले । स्टोइनिस, म्यक्सवेलले पनि आफ्नो काम गरे,’ उनले भने, ‘न्यूजिल्याण्डले बीचको ओभरमा राम्रो ब्याटिङ गरेको थियो । हाम्रो बलर दबाबमा थिए । यद्यपि हामीले अन्त्यमा राम्रो बलिङ गर्न सक्यौं ।’

फाइनलमा न्यूजिल्याण्डले दिएको १७३ रनको लक्ष्य अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसका लागि मिचेल मार्श र डेविड वार्नरले अर्धशतकीय पारी खेले ।

मार्शल ५० बलमा ६ चौका र ४ छक्काको सहयोगमा अविजित ७७ रन बनाए । वार्नरले ३८ बलमा चार चौका र तीन छक्कासहित ५१ रनको योगदान दिए ।

कप्तान आरोन फिन्च ५ रनमा आउट हुँदा ग्लेन म्याक्सवेल २८ रनमा अविजित रहे । बलिङमा ट्रेन्ट बोल्टले दुई विकेट लिए । बाँकी बलरले विकेट हात पार्न सकेनन् ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७२ रन बनायो । उसका लागि कप्तान केन विलियम्सनले उत्कृष्ट पारी खेले । उनले ४८ बलमा १० चौका र तीन छक्कासहित ८५ रन बनाए ।

त्यस्तै, मार्टिन गुप्टिलले २८, ग्लेन फिलिप्सले १८, जिमी नीशमले अविजित १३, डारियल मिचेलले ११ र टिम साइफर्टले ८ रनको योगदान दिए । बलिङमा जोश हेजलउडले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिए ।

एडम जम्पाले एक विकेट लिँदा स्टार बलर मिचेल स्टार्क महँगा सावित भए । उनले चार ओभरमा बिनाविकेट ६० रन दिए ।

Loading...