नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा मोन्टी देसाईको सम्भावना कति? यस्तो छ उनको विगत

काठमाडौं– डेभ ह्वाटमोरले राजीनामा दिएपछि नेपाली क्रिकेट टोलीले नयाँ प्रमुख प्रशिक्षक पाउन सकेको छैन । ह्वाटमोरले भदाैमा प्रशिक्षकको पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

उनले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ प्रशिक्षकका आवदेनसमेत आह्वान गरेको थियो । जसमा क्यानले उत्कृष्ट १५ जनाको अन्तर्वार्ता लिएको बताइएको छ । अब ती १५ मध्ये एकजना नेपाली टिमको मुख्य प्रशिक्षक बन्ने छन् ।

आईसीसीलाई पठाएको शर्ट लिस्ट आउन ढिलाइ हुँदा नेपाली टिमले समयमै प्रशिक्षक पाउन सकेको छैन । योपटक शर्ट लिस्टमा परेका १५ जनामध्ये मोन्टी देशाई मुख्य प्रशिक्षक बन्ने सम्भावना बढी रहेको छ । उनी भारतीय नागरिक हुन् ।

देशाई हाल वेष्ट इन्डिज टिमको ब्याटिङ प्रशिक्षक छन् । वेष्ट इन्डिजसँगको उनको सम्झौता अर्को महिना सकिँदैछ । त्यसपछि भने देशाई नयाँ टिमको प्रशिक्षक बन्ने सोचमा छन् । यस्तोमा उनको लागि नेपाल उत्तम विकल्प हुन सक्छ ।

देशाईले एक दशकभन्दा बढी समय विभिन्न टिमको प्रशिक्षण गरेको अनुभव बटुलेका छन् । उनले अफगानिस्तान, नेपाल, यूएई, क्यानडा, आईपीएलमा गुजरात लायन्यस, राजस्थान रोयल्स र भारतीय घरेलु क्रिकेटमा आन्द्र प्रदेश टिमसँग पनि काम गरिसकेका छन् । उनको प्रशिक्षणमा टिमले पनि सन्तोषजनक प्रदर्शन गरेको विगत छ ।

देसाई विशेष गरी ब्याटिङ प्रशिक्षक हुन् । नेपालको मुख्य समस्या पनि ब्याटिङ नै रहेको छ । यस्तो अवस्थामा देसाई टिमको लागि सही प्रशिक्षक पनि हुन सक्छन् । इतिहास देखिनै कमजोर ब्याटिङ सुधार गर्न नेपालले मोन्टी देशाईलाई प्रशिक्षकको रूपमा नियुक्त गर्नसक्छ ।

मोन्टीले नेपाली क्रिकेटलाई नजिकबाट पनि नियालिसकिकेका छन् । सन् २०१७ मा नेपाली यू–१९ टोलीले भारतलाई हराउँदा उनी नै नेपालका ब्याटिङ सल्लाहकार थिए ।

सन् २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको विश्व टी-२० छनोटमा पनि देशाई नेपाली टोलीसँग रहेका थिए । त्यसअघि सन् २०१४ को विश्वकपमा पनि उनी नेपाली टोलीमा आबद्ध थिए । २०१९ मा एकदिवसिय विश्वकप छनोटमा अफगानिस्तानलाई च्याम्पियन बनाउन मोन्टीको अहम् भूमिका थियो । वेष्ट इन्डिजमा पनि उनले ब्याटिङमा राम्रो प्रभाव छाडेका छन् ।

मोन्टीले विगतदेखि नै नेपाली क्रिकेटलाई आफूले केही सहयोग गर्न चाहेको बताउँदै आएका छन् । उनीबाहेक न्यूजिल्याण्डका क्रिस हेरिस, भारतका चेतन शर्मा, श्रीलंकाका पुबुदु दसानायके र जिम्बावेका ततेन्दा ताइबुमध्ये एकजना नेपाली क्रिकेट टिमको प्रशिक्षक बन्ने चर्चा छ ।

Loading...